नगरपार्षद्हरूले न राजीनामा दिनेछन् न त पार्टी फेर्नेछन् : प्रतिभा राई

0
1244
दार्जीलिङ नगरपालिका अध्यक्ष प्रतिभा राई।

दार्जीलिङ, २८ मई : दार्जीलिङ पहाड़का नगरपार्षद्हरूको कार्यकाल आउँदो २०२२ सम्म रहेकोले यो कार्यकालभन्दा अघि नगरपार्षद्हरूले न राजीनामा दिने न त पार्टी नै परिवर्तन गर्ने दार्जीलिङ नगरपालिकाकी अध्यक्ष प्रतिभा राईले बताइन्।

लोकसभा र विधानसभा चुनाउमा पहाड़का सबै नगरपालिका वार्डहरूमा विनयपन्थी गोजमुमो र तृणमूल कङ्ग्रेस पराजित भएकोले जनमतलाई सम्मान गर्दै नैतिकताको आधारमा पहाड़का नगरपार्षद्हरूले कि त राजीनामा दिनुपर्ने नभए पार्टी परिवर्तन गर्नुपर्ने सोमबार गोरामुमो स्टेरिङ कमिटीका नेता अजय एड्वर्डले बताएका थिए।

मङ्गलबार एड्वर्डको उल्लिखित बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै प्रतिभा राईले पहाड़का नगरपार्षद्हरूले न राजीनामा न त पार्टी नै फेर्ने बताएकी हुन्। उनले स्थानीय प्रेस गिल्डमा आज पत्रकारहरूलाई सम्बोधन गरिरहेकी थिइन्।

“नगरपार्षद्हरूको कार्यकाल २०२२ सम्म छ। त्यसैले यसअवधिका लागि पहाड़का नगरवासीले नगरपार्षद्हरूलाई जनमत दिएका हुन्। सबै नगरपार्षद् २०२२ सम्म जनताको सेवामा लागिरहनेछन्’’, उनले थपिन्, “२०२२ भन्दा राजीनामा दिने प्रश्नै आउँदैन। यो अवधिभन्दा अघि एकैजना नगरपार्षद्ले पनि राजीनामा दिनेछैनन्। २०२२ मा हुने नगरपालिका चुनाउमा जनताले कसलाई चयन गर्ने हुन्, त्यो त्यसैबेला स्पष्ट हुन्छ, तर लोकसभा र विधानसभाको चुनाउलाई नगरपालिकासँग तुलना गर्न मिल्दैन। लोकसभा र विधानसभा चुनाउ र नगरपालिकाको विषयमा आकास-पातालको फरक छ।”

नपा अध्यक्ष राईले पछिल्लो दुईवटा चुनाउमा जनताले गोर्खाल्याण्डका लागि मतदान गरेको बताउँदै चुनाउमा विजयी बनेका राजु विष्टलाई गोर्खाल्याण्डका लागि ठोस कार्य गर्ने अपील गरिन्।

“दार्जीलिङ पहाड़का जनताले छुट्टै राज्य गोर्खाल्याण्ड नै चाहेका छन् भन्ने प्रमाण यसपालिको चुनाउको परिणाम हो। हामी पनि गोर्खाल्याण्ड राज्य गठन होस् भन्ने चाहन्छौं। यसका लागि कुनै पनि समय आन्दोलन गर्न तयार छौं”, उनले भनिन्, “विगतका गोर्खाल्याण्ड आन्दोलनहरूमा पनि हामीले योगदान दिएकै हौं, गोर्खाल्याण्डका लागि सड़कमा ओर्लिएकै हौं। यसैले २०१७ को गोर्खाल्याण्ड आन्दोलन स्थगित मात्र गरिएको थियो, यसमा पूर्ण विराम लागेको छैन।”

गोर्खाल्याण्डका लागि जनताले मतादन गरेको बताउँदै उनले आफूहरूले भाजपाका विजयी उम्मेदवार राजु विष्टले गोर्खाल्याण्डका लागि पहल गर्ने कुरामा आशावादी रहेको र जनाकांक्षालाई सम्मान गर्दै भाजपाले छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरी आफ्नो दायित्व पूरा गर्नुपर्ने माग गरिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here