दार्जीलिङ, २९ मई : दार्जीलिङ नगरपालिका उपाध्यक्ष सागर तामाङले विमलपन्थी नगरपार्षद्हरूले गरेको बहुमतको दाबीलाई झूटो बताउँदै दार्जीलिङ नगरपालिकाको बोर्डमा आफूहरूको बहुमत रहेको ठोकुवा गरेका छन्।
तामाङले विमलपन्थी मोर्चाले धेरजसो नगरपार्षद्हरूलाई झूटो बोलेर सादा कागजमा हस्ताक्षर गर्नु लगाएको कतिपय नगरपार्षद्हरूले गुनासो गरिरहेको पनि तामाङको दाबी छ।
यसैबीच वार्ड नम्बर २८ का नगरपार्षद् लाक्पा शेर्पाले नगरपालिकाको योजनाका लागि भनेर सादा कागजमा हस्ताक्षर गर्न लगाएर धोका दिए तथा छलकपट गरेको भन्दै दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरेका छन्।
उनले आफूमाथि हस्ताक्षर गर्न दबाउ दिइएको पनि आरोप लगाएका छन्।
जानकारीका अनुसार उनले विमलपन्थी नगरपार्षद्हरू क्रमैले नमन राई, अनुप हाङ सुब्बा, अम्बिका शर्मा र महिमा राणा गुरुङलगायत मोर्चा प्रवक्ता बीपी बजगाइँविरुद्ध प्राथमिकी दर्ता गरेका छन्।
अर्कोतिर अविश्वास प्रस्तावको माग गर्न पुगेका विमलपन्थी नगरपार्षद्हरूले नगराध्यक्ष प्रतिभा तामाङ राईलाई धक्कामुक्की गरेको विनयपन्थी नगरपार्षद्हरूले गम्भीर आरोप लगाएका छन्। यसैलाई लिएर स्वस्थ्यमा समस्या देखिएपछि नगराध्यक्षलाई अस्पतालमा भर्ना गरिएको उनीहरूको ठोकुवा छ।
यसैगरी यसै घटनालाई लिएर आज साँझपख विनयपन्थी मोर्चाका समर्थकहरूले दार्जीलिङ सदर थाना घेराउ गरी व्यापक नाराबाजी गरेका थिए।