झूटो मुद्दा हालेर नगरपालिका बचाउन खोजिरहेको छ : लोप्साङ लामा

0
1760
विमलपन्थी गोजमुमोका कार्यकारी अध्यक्ष लोप्साङ लामा। (फाइल फोटो)।

दार्जीलिङ, 29 मई : बङ्गाल सरकार र विनयपन्थी गोजमुमोले विभिन्न झूटो मुद्दा हालेर धरपकड़ गरी नगरपालिका बचाउन अन्तिम हतियारको रूपमा प्रयोग गरिरहेको विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) कार्यकारी अध्यक्ष डा. लोप्साङ लामाले बताएका छन्। बुधबार एक प्रेस विज्ञप्ति जारी गरी डा. लामाले यस्तो भनेका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘‘दार्जीलिङ पहाड़, तराई , डुवर्सलगायत बङ्गालका जनताको सहनशीलता र धैर्यको प्रतिफलद्वारा हामीले फराकिलो अन्तरले दार्जीलिङ लोकसभा र विधानसभाको चुनाउ जित्न सफल भएका हौं। त्यसैकारण बङ्गाल सरकार र नक्कली गोजमुमोको मानसिक सन्तुलन हराएर आज गोजमुमो प्रवक्ता बीपी बजगाइँलाई दार्जीलिङ पुलिसले पक्राउ गरेको छ।’’

उनले थप भनेका छन्, ‘‘चुनाउ सकियो, फलाफलको घोषणा भइसकेपछि पहाड़मा बिस्तारै शान्ति र गणतन्त्र बहाली हुने जनताले आशा साँचेका छन्, तर बङ्गाल सरकारले धरपकड़ गरी शान्ति स्थापनामा बाधा उत्पन्न गरिरहेको छ।’’

लामाले आफ्नो जनतालाई शान्ति बनाइराख्ने अपील पनि विज्ञप्तिमार्फत गरेका छन्। उनका अनुसार विमलपन्थी गोजमुमोले दार्जीलिङ पहाड़मा शान्ति चाहन्छ। उनले जनतालाई उत्तेजित नभई कानुनी रूपमा लड़ाइँ लड़्ने र यसका लागि उकिलहरू खटिरहेको जनाएका छन्।

‘‘बङ्गालले हामीलाई उस्काइरहेको छ। भड़्काइरहेको छ। फेरि झूटा मुद्दाहरू हालेर धरपकड़ गरी नगरपालिकाहरू बचाउन अन्तिम हतियार प्रयोग गरिरहेको छ। यसैले हामी होशियार हुनुपर्नेछ’’, उनले थप भनेका छन्, ‘‘सबै सबै मिलेर शान्ति धैर्यपूर्ण बसेर अन्याय-अत्याचार सहेर सही समयमा जवाब दिइसकेका छौं। अब केही दिन शान्त भएर बसिदिने अनुरोध गर्दछु।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here