दार्जीलिङ, ३० मई : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का नेता एवं पूर्व सभासद् तिलक चन्द्र रोकालाई दार्जीलिङ पुलिसले पक्राउ गरेको छ।
प्राप्त जानकारीका अनुसार रोकालाई बुधवार मध्यराति घरमा सुतिरहेको अवस्थामा पुलिसले पक्राउ गरेको हो। यद्यपि कुन मुद्दामा यी मोर्चा मोर्चालाई पक्राउ गरिएको हो र कुन कुन धारा लगाइएको छ, त्यसबारे विस्तृत जानकारी प्राप्त हुनसकेको छ।
रोका पछिल्लो गोर्खाल्याण्ड आन्दोलनको समयमा पनि पक्राउ परेर करिब ९ महिना जेल बसेका थिए। जेल बसेर फर्केपछि केही महिनायता विमलपन्थी मोर्चाको साङ्गठनिक गतिविधिमा उनी सक्रिय बनेका थिए।
उल्लेखनीय छ, हिजै मोर्चा प्रवक्ता बीपी बजगाईंलाई पुलिसले पक्राउ गरेको थियो। यता, विमलपन्थी नेताहरूलाई पुनः भकाभक पुलिसले पक्राउ गर्न शुरु गरेपछि पुलिस प्रशासन, बङ्गाल र विनयपन्थी गोजमुमोविरुद्ध विरोध स्वर चर्को बन्न थालेको छ।
यसैबीच बीपी बजगाइँ र तिलक चन्द्र रोकाको पक्राउको विरोध गर्दै मोर्चा प्रमुख विमल गुरुङले बङ्गाल सरकारले पुलिस प्रशासन लगाएर दार्जीलिङ पहाड़वासीको आवाजलाई दबाउन नसक्ने बताएका छन्। यसका साथै उनले बङ्गालको अन्याय अत्याचारविरुद्ध सबैले आवाज उठाउनुपर्ने अपील गरेका छन्।