मोदीको शपथ ग्रहण समारोहमा भाग लिन ११ शहीद परिवार दिल्ली प्रस्थान

0
1799
मोदी सरकारको शपथ ग्रहण समारोहमा अंशग्रहण गर्न दिल्ली प्रस्थान गर्नअघि शहीद परिवारहरू।

दार्जीलिङ, ३० मई : पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा बङ्गालको क्रुर दमन नीतिको फलस्वरूप गोली गालेर छुट्टै राज्यका लागि प्राणको बलिदान दिने ११ शहीदका परिवारलाई मोदी सरकारको शपथ ग्रहण समारोहमा निम्ताइएको छ।

यसैबीच शहीदका परिवारहरू शपथ ग्रहण समारोहमा अंशग्रहण गर्नका लागि दिल्ली पुगिसकेका छन्। अर्कोतिर यसबारे जानकारी गराउँदै विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव रोशन गिरी एक प्रेस विज्ञप्ति जारी गरेका छन्।

गिरीले विज्ञप्तिमा लेखेका छन्, “सन् २०१७ –मा भाषिक अतिक्रमणको विरोधबाट शुरु भएको गोर्खाल्याण्ड आन्दोलनमा पश्चिम बङ्गाल पुलिसको गोली लागेर आफ्नो प्राणको आहुति दिने ११ शहीदका परिवारले आज दिल्लीमा भइरहेको शपथ ग्रहण कार्यक्रममा भाग लिन गइरहेको समाचार साझा गर्न पाउँदा हामी खुशी अनुभव गरिरहेका छौं।”

अहिलेघरी दार्जीलिङमा गणतन्त्र नभएकोले शहीद परिवारलाई शपथ ग्रहण कार्यक्रममा निम्ताइएको खबरलाई गोप्य राखेको पनि बताएका छन्। उनले भनेका छन्, “यदि यो कुरा तृणमूल कङ्ग्रेस र यसका पुलिसहरूले थाहा पाएको खण्डमा शहीद परिवारहरूलाई दार्जीलिङबाट दिल्ली प्रस्थान गर्ने अनुमति नै दिनेछैन भन्ने कुरामा हामीलाई डर थियो।’’

विमलपन्थी मोर्चाका महासचिवले ११ शहीद परिवारलाई पठाइएको निमन्त्रणा प्रतीकात्मक रहेको बताएका छन्। उनका अनुसार निमन्त्रणा-पत्रले एकातिर गोर्खा समुदायद्वारा गरिएको उत्सर्गको विषयले पुष्टि पाएको छ भने अर्कोतिर प्रधानमन्त्री नरेन्द्र मोदी, सांसद राजु विष्टलगायत भारतीय जनता पार्टीद्वारा गम्भीरतापूर्वक बहन गरिएको दायित्व प्रतिबिम्बित भएको छ।

यसका साथै गिरीले  भाजपाको नयाँ सरकारले वरिष्ठ न्यायाधीशको अगुवाइमा एउटा स्वतन्त्र जाँच कमिटी गठन गरी पश्चिम बङ्गाल पुलिसको संलग्नतामा भएको गैरकानुनी हत्याबारे जाँचकार्यलाई अघि बढ़ाउने तथा उक्त हत्याकाण्डमा संलग्न रहेका दोषीहरूलाई उचित सजाय दिनेछ भन्ने कुरामा विश्वास व्यक्त गरेका छन्।

उनले दोस्रोपटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई पार्टीको तर्फबाट बधाई टक्राउँदै उनीबाट भारतवर्षका सम्पूर्ण गोर्खाबहुल क्षेत्रको सुदृढ़ीकरण हुने कुरामा पनि आशा व्यक्त गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here