विनय-अनितका नकाबधारी गुण्डाहरूले पहाड़मा ताण्डव मचाउने कार्य गर्दैछन् : विमल

1
1246
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, 1 जून : विनय तामाङ र अनित थापाका नकाबधारी गुण्डाहरूले पुलिसको सहयोगमा अहिले पहाड़मा ताण्डव मचाउने कार्य गरिरहेको आरोप गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले लगाएका छन्।

गुरुङले शनिबार बिहान एक अडियो जारी गरी यस्तो आरोप लगाएका छन्। शुक्रवार करिब एक दर्जनौं नकाबधारी व्यक्ति हतियारसहित हिजो दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर-6 को निम्कीडाँड़ा गाउँभित्र पसेर आतङ्क मच्चाएको प्रसङ्गमा गुरुङले यस्तो भनेका हुन्।

उनले विनय-अनितका  यस्ता नकाबधारी  गुण्डाहरूलाई पुलिस प्रशासनले सहयोग गर्नका सट्टा चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्नु पर्ने माग गरेका छन्। साथै यस्तो घटनाको घोर भर्त्सना गरेका छन्।

गुरुङले अडियोमा भनेका छन्, ‘‘पहाड़को स्थिति-परिस्थिति दिन प्रतिदिन एकदमै भयानक हुँदै गएको छ। दिउँसै  पहाड़मा ताण्डव मच्चाइरहेको छ। मुखमा नकाब लगाएर पुलिस र विनय-अनितका गुण्डा खेमाहरू गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरूका घर घरमा पसेर ताण्डव मच्चाउने काम गरिरहेका छन्। यसको हामी घोर भर्त्सना गर्छौं।’’

‘‘आज हार स्वीकार गर्न नसक्ने व्यक्तिहरूले बङ्गालको कालो नीतिसँग मिलेर दुईजना गद्दार जाति बेचुवा, माटो बेचुवा, आफ्ना छोरा-छोरीको भविष्यलाई डाँवाडोल पार्ने र आफ्नो स्वार्थको राजनीति गर्ने र पैसाको एकदमै घमण्ड गर्ने र पैसाको ताकतमा राजनीति गर्ने व्यक्तिहरूले आज ताण्डव मच्चाउँदैछ’’, उनले थप भनेका छन्, ‘‘हाम्रा नगरपार्षद् दाजु भाइ दिदी बहिनीहरूको घर घरमा गएर, घरमा रहेका आमा-बाबा, दाजु-बहिनी र छोराछोरीहरूमाथि आज जुन प्रकारको अन्याय अत्याचार सृष्टि गर्ने काम गरिरहेको छ। पुलिस प्रशासनले यसलाई देखेर पनि नदेखेको जस्तो गरिरहेको छ। अझै यस्ता व्यक्तिहरूलाई सहयोग गरिरहेको छ। यसको गोर्खा जनमुक्ति मोर्चा घोर भर्त्सना गर्छ।’’

यस्तै अन्याय अत्याचारको विरोधमा आफूहरू लड़िरहेको विमलले बताएका छन्। “हाम्रा दिदी बहिनीहरू जसको गणतान्त्रिक ढङ्गमा काम गरिरहेका छन्। गणतान्त्रिक काम गर्दा पनि पुलिस प्रशासन र यी गद्दारहरूले कालो नीति गरेर हामीमाथि ताण्डव मच्चाउने काम गर्छ’’, गुरुङले भने।

विनय-अनितले आलोककान्त मणि थुलुङ, नगेन्द्र प्रधान र काइँलासँग अरु विनय-अनित खेमाका दलाल-गुण्डाहरूलाई नमन राईलगायत अन्यको  घर घरमा पठाउने काम गरिरहेको गम्भीर आरोप पनि लगाएका छन्। साथै यसबारे पुलिस प्रशासनले ध्यान दिनुपर्ने बताएका छन्।

उनले ममता सरकार बङ्गालमा लामो समयसम्म नजाने दाबी गर्दै ममता सरकार सत्ताच्यूत भएपछि सरकार चलाउने र पुलिस प्रशासनलाई प्रयोग गर्ने व्यक्तिहरूमाथि ठूलो कारबाही हुने गुरुङको दाबी छ।

“यो गणतान्त्रिक देश हो। गणतान्त्रिक देशमा यस्ता कार्यहरूको लेखाजोगा अवश्यै हुनेछ”, उनले थप भनेका छन्, “यो सटिक न्याय होस्। छिटोभन्दा छिटो हिजो नकाब लगाएर घर घरमा पसेर धम्की दिनेहरूलाई पक्राउ गरेको हुनुपर्छ।”

यदि भोलिको दिनमा दार्जीलिङ पहाड़मा अशान्ति सिर्जना भए यसको दायी पुलिस प्रशासन र गुण्डागर्दी गरी राजनीति गर्नेहरू हुने विमलले बताएका छन्।

1 टिप्पणी

  1. यस्तो मान्छेहरुलाई पक्राउ गर्न जरुरी छ नत्रभने दार्जिलिङको भविष्यवाणी अन्धकार भएर जानेछ jay gorkh jay gorkhali

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here