पहाड़मा पुनः पुलिसी अत्याचार शुरु भएको छ : क्रामाकपा

0
1125
पत्रकारहरूलाई सम्बोधन गर्दै अरुण घतानी, छेउमा किशोर प्रधान।

कालेबुङ, १ जून : लोकसभा र विधानसभाको चुनाउ परिणामपछि पहाड़मा पुनः बङ्गाल पुलिसको अत्याचार शुरु भएको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले बताएको छ।

शनिबार कालेबुङको पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा (गक्रायुमो) महासचिव अरुण घतानीले यस्तो भनेका हुन्।

“पछिल्लो गोर्खाल्याण्ड आन्दोलन चरममा पुगेर जुन मोड़ लियो, आन्दोलनलाई जसरी दमन गरियो, जुन  तत्त्वहरूले यो आन्दोलनलाई बेचिखाएका थिए। ती तत्त्वहरूलाई जवाब दिनका लागि र बङ्गाल प्रशासनको दमन उत्पीड़नविरुद्ध एउटा जनमतद्वारा परास्त गर्न जनताले जुन अठोट गरेका थिए, त्यसमा हामी समक्ष हुनसकेका छौं”, उनले  थपे, “यसका लागि दार्जीलिङ पहाड़ तराईवासी गोर्खे सन्तान धन्यवादका पात्र बनेका छन्। हामीले एउटा ऐतिहासिक विजयी हासिल गर्न सफल बनेका छौं। यद्यपि पहाड़मा जुन हर्ष-उल्लास छ, तर यो हर्ष उल्लास पनि यहाँका जनताले मनाउन पाइरहेका छैनन्। पहाड़मा धरपकड़, र पुलिसी अन्याय अत्याचार पुनः शुरु भएको छ।”

उनले पहाड़मा शुरु भएको पुलिसी अन्याय अत्याचारको तीखो शब्दमा निन्दा गरे। पुलिसी अन्याय अत्याचारविरुद्ध, पहाड़मा गणतन्त्रको पुनर्बहाली र छुट्टै राज्यप्रतिको जनाकांक्षालाई पछिल्लो दुई चुनाउमा पहाड़वासी जनताले जुन जनमत दिएका छन्, त्यसको प्रतिशोध लिन जुन दमन नीति शुरु गरेको छ, त्यसको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले तीखो शब्दमा भर्त्सना गर्ने गक्रायुमो महासचिव घतानीले बताए।

“गणतान्त्रिक परिवेश स्थापना गर्नका लागि सरकारले पहल गर्नुपर्ने थियो, तर सट्टामा पुलिसी अत्याचार शुरु गर्नु अत्यन्त दुःखदायी कुरा हो”, घतानीले थपे, “सरकारले प्रतिशोधमा होइन, तर जनताको विचारलाई सम्मान गर्न सक्नुपर्छ।”

लोकसभा र विधानसभामा फराकिलो मतान्तरले विजयी बन्ने पहाड़का दुई प्रतिनिधि (सांसद राजु विष्ट र विधायक नीरज जिम्बा)-ले नयाँ सोच र नयाँ विचारअनुसार गोर्खा एकीकरणली अघि बढ़ाउँदै पहाड़को जनाकांक्षा पूरा गर्ने दिशामा पहल गर्ने कुरामा विश्वास व्यक्त गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here