
कोलकाता, 5 जून : लोकसभा चुनाउपछि राज्यको शासक दल तृणमूल कङ्ग्रेसलाई फेरि ठूलो झट्का लागेको छ। राज्यका 18 संसदीय सीट जितेपछि भाजपाले अब नगरपालिका कब्जा गर्न शुरु गरेको छ।
यसैक्रममा भाजपाले भाटपारा नगरपालिका कब्जा गरेको छ। मङ्गलबार भएको चुनाउमा भाजपाले नगपालिकाका 26 वटै सीट जितेको छ भने शासक दलले एउटै सीट पनि जित्न सकेन। यसलाई तृणमूल कङ्ग्रेसका लागि ठूलो झट्का मानिँदैछ।
नगराध्यक्षका लागि सौरभ सिंहलाई चयन गरिएको छ। लोकसभा चुनाउपछि नै भाटपारा नगरपालिकामाथि कब्जालाई लिएर तृणमूल कङ्ग्रेस र भाजपाले सक्दो कसरत गरिरहेका थिए। तर हिजो भएको चुनाउमा भाजपाले सबै सीट जितेको छ।
उल्लेखनीय छ, ब्यारेकपुर संसदीय क्षेत्रमा भाजपाका अर्जुन सिंहले चुनाउ जितेपछि यहाँ तृणमूल कङ्ग्रेस धरापमा परेको छ। अर्जुन सिंह पहिला तृणमूल कङ्ग्रेसकै विधायक थिए। लोकसभा चुनाउ लड़्ने आशा साँचिरहेका अर्जुन सिंहलाई पाखा लगाउँदै तृणमूल कङ्ग्रेसले पूर्व रेलमन्त्री दिनेश त्रिवेदीलाई ब्यारेकपुरबाट टिकट दिएपछि बिच्किएका सिंहले तृणमूल त्यागेर भाजपामा सामेल भएका थिए।
अहिले आफ्नो क्षेत्रबाट तृणमूल कङ्ग्रेसलाई निमिट्यान्न पार्नका लागि अर्जुन सिंह लागिपरेको छ। स्मरणरहोस्, यसभन्दा अघि बङ्गालका एउटै पनि नगरपालिकामा भाजपाको कब्जा थिएन। भाटपारा जितेपछि अब अन्य नगरपालिकामा पनि भाजपाले आँखा गाड़ेको छ।


