5-6 नगरपार्षद्लाई विमल गुरुङहरूले नजरबन्दी बनाएर राखेको प्रतिभा राईको आरोप

0
1281
प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै नगराध्यक्ष प्रतिभा तामाङ राई र अन्य नगरपार्षद्हरू।

दार्जीलिङ, 5 जून : विमल गुरुङ पक्षका भनिएका 16 जना नगरपार्षद्हरूमा धेरैजसो नगरपार्षद्लाई नजरबन्दीजस्तो बनाएर राखिएको आरोप दार्जीलिङ नगरपालिकाका अध्यक्ष प्रतिभा तामाङ (राई)-ले लगाएकी छन्।

यसका साथै उनले ती 16 नगरपार्षदमध्ये 5-6 जनाले ‘हामी फँसियौं/हामीलाई फँसाइयो’ भन्दै रूँदै आफूसँग सम्पर्क गर्न खोजिरहेको दाबी पनि गरेकी छन्। बुधबार स्थानीय प्रेस गिल्डमा एक पत्रकार सम्मेलन आयोजन गरी वर्तमान नगराध्यक्षले यस्तो आरोप लगाएकी हुन्।

पत्रकार सम्मेलन प्रतिभा तामाङ राईसँग नगरपालिकाका उपाध्यक्ष सागर तामाङलगायत नगरपार्षद्हरू क्रमैले बबिता गाङ्गुली, सुनिता तामाङ, सुरेखा तामाङ र प्रमोला लामा पनि उपस्थित थिए।

पत्रकारहरूलाई सम्बोधन गर्दै उनले चाँड़ै अविश्वास प्रस्तावको भोटिङ गराउने बताइन्। उल्लेखनीय छ, केही दिनअघि 18 जना नगरपार्षद्ले एउटा सादा कागजमा संयुक्त हस्ताक्षर गरी नगरपालिकाकी अध्यक्ष प्रतिभा तामाङ राईलाई एक ज्ञापन सुम्पेर अविश्वास प्रस्तावका लागि बैठक  बोलाउने माग गरेका थिए। त्यसैदिनदेखि दार्जीलिङ नगरपालिकाको बोर्डलाई लिएर अन्योल सिर्जना भएको छ।

यद्यपि उक्त कागजमा हस्ताक्षरसहित नाम रहेका नगरपार्षद् लाक्पा (लामा) शेर्पा (वार्ड नम्बर-28)-ले छलकपटपूर्ण तरिकाले आफूलाई हस्ताक्षर गर्न लगाएको भन्दै नमन राईसहित अन्य नगरपार्षद् तथा विमलपन्थी गोजमुमोका प्रवक्ता बीपी बजगाइँविरुद्ध दार्जीलिङ सदर थानामा लिखित रूपमा प्राथमिकी दर्ता गरेका थिए। आज पत्रकारहरूलाई सम्बोधन गर्दै प्रतिभा राईले भनिन्, “अस्पतालबाट हिजै मात्र मेरो छुट्टी भएकोले अविश्वास प्रस्तावका लागि भोटिङ गराउन सकिरहेको थिइनँ। तर अब म चाँड़ै अविश्वास  प्रस्तावका लागि भोटिङ गराउनेछु।”

नगराध्यक्षले लगाएको आरोपका अनुसार विमल गुरुङको पक्षमा रहेका भनिएका पार्षद्हरूमध्ये केहीलाई जबर्जस्ती गृहबन्दीजस्तो बनाएर राखिएको छ। ती नगरपार्षद्हरू स्वतन्त्र छैनन्। उनीहरू धेरै असुविधा छन्। “हामी  यता बसेका सबै नगरपार्षद् आ-आफ्नै घरमा छौं। खुशीसँग आफ्नै कार्यमा व्यस्त छौं। सामान्य जीवन बिताइरहेका छौं। नगरवासी र पार्टीको काम गर्दै आफ्नो व्यक्तिगत जीवन पनि व्यतीत गरिरहेका छौ”, उनले थपिन्, “त्यसैगरी उनीहरूको पनि आफ्नो जिन्दगी छ। उनीहरूलाई त्यसरी नजरबन्दी बनाएर राख्नु पाइँदैन। सबै होइन, तर 5-6 जनाले धेरै दुःख पाइरहेको तथा  कब्जामा बस्न पर्दा धेरै असुविधा भइरहेको बताएका छन्।” दार्जीलिङमा रहेका नगरपार्षद्हरूको घरमा पनि विमल गुरुङले दैनिक धेरै मानिस पठाएर दबाउ दिइरहेको उनको अर्को आरोप छ। उनले यस्तो कार्यको आफूले तीखो शब्दमा विरोध गरेकी छन्।

उनले थप दाबी गर्दै भने, “हामीले कसैलाई रोकेर राखेका छैनौं। यहाँ जति 13 जना छन्। उनीहरूलाई हाम्रो पार्टीका अध्यक्ष, सचिव र मैले तपाईंहरू यहीं बस्नपर्छ भनेर पनि राखेका होइनौं। स्वचेछाले उनीहरू यहाँ बसिरहेका छन्।” उनले थप भनिन्, “गोर्खाल्याण्डबारे गर्नपर्ने जिम्मेवारी हामी सबैलाई थाहा छ। परेको बेला हामी योगदान दिन पनि तयार छौं। तर, गोर्खाल्याण्डका लागि भन्दै भूमिगत भएर, यहाँ अशान्तिहरू फैलाएर, मानिसहरूलाई म्यासेजहरू पठाएर मानिसहरूलाई दिग्भ्रमित नपारिदिने म निवेदन गर्दछु।”

बोर्ड बनाउन यहीं बस्नुपर्ने र घर छोड़ेर तथा भागेर कतै जानपर्ने औचित्य नदेखेको नगराध्यक्ष प्रतिभा राईको भनाइ छ। “ती नगरपार्षद्हरूलाई दार्जीलिङ पहाड़बाट अन्तै लानुको अर्थ हामी त अर्कै देख्छौं। उनीहरूलाई यहाँबाट लगेर एउटा ठाउँमा राख्यो। त्यहाँबाट नेपाल लगेर फेरि दिल्ली पठाउँदैछ भन्ने कुराहरू आइरहेको छ। यसैले मेरा पार्षद्हरूलाई लिएर म एकदमै चिन्तित छु”, उनले भनिन्।

उल्लेखनीय छ, दार्जीलिङ नगरपालिका 32 वटा सीट छन्। यद्यपि वर्तमान नगरपार्षद्को सङ्ख्या 30 छ। वार्ड नम्बर 20 का नगरपार्षद् मणि प्रधानको निधन र 17 नम्बर वार्डका नगरपार्षद् रामजन गोलेले राजीनामा दिएपछि  वर्तमानमा नगरपार्षद्हरूको सङ्ख्या 30 भएको हो। यो अङ्कको हिसाबले अहिले नगरपालिका कब्जा गर्नका लागि 16 नगरपार्षद् एकातिर भए पुग्छ। विमलपन्थी गोजमुमोले पनि आफ्नो पक्षमा 16 नगरपार्षद् रहेको दाबी गर्दै आइरहेको छ भने केही दिनअघि 16 नगरपार्षद्ले आफूहरूले गोर्खाल्याण्डका लागि स्वेच्छाले घरदेखि बाहिर रहेको तथा घर परिवारलाई सुर्ता नगरिदिने भन्दै एक भिडियो जारी गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here