3 जूनको घटनाका दोषीहरूलाई कानुनी सजाय दिनुपर्छ : चामलिङ

0
1119
पवन चामलिङ (फाइल फोटो)।

गान्तोक, 6 जूनः सिक्किम विधानसभाको मान-सम्मान र छविलाई बचाएर राख्नुपर्ने माग गर्दै एसडीएफ पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किम विधानसभाका अध्यक्ष एलबी दासलाई एउटा ज्ञापन-पत्र पेश गरेका छन्।

चामलिङले ज्ञापन-पत्रमा लेखेका छन्, “सिक्किम विधानसभाको मान-सम्मान र छविलाई बचाएर राख्नुपर्छ अनि यसको निम्ति 3 जूनको दिन भएको घटनाका दोषीहरूलाई कानुनी सजाय दिएर मलगायत एसडीएफ विधायकहरूलाई न्याय दिनुपर्छ।”

उनले ज्ञापनमा अझ लेखेका छन्, “विधानसभामा म एसडीएफ पार्टीबाट विपक्षी दलका नेता हुँ। त्यससँगै सिक्किम विधानसभामा सबैभन्दा वरिष्ठ सदस्य पनि मै हुँ। 1985 देखि म लगातार रूपमा सिक्किम विधानसभाको सदस्य रहँदै आएको छु, तर 3 जूनको दिन जुन घटना भयो, यस्तो घटना सिक्किमको इतिहासमा कहिल्यै भएको थिएन। यो अत्यन्त निन्दनीय, भर्त्सनायोग्य र संसदीय प्रजातान्त्रिक प्रणालीको अभ्यासको विरुद्धमा भएको छ।”

उनले अझ लेखेका छन्, “विधानसभाको आफ्नै मान र मर्यादा हुन्छ। विधानसभा अध्यक्षले कानून मुताविक विधानसभा सञ्चालन गर्नुपर्छ। विधानसभा सञ्चालन गर्ने जिम्मेवारी अध्यक्षको हो। विधानसभा अध्यक्षले राजनीतिक पार्टीदेखि माथि उठेर काम गर्नुपर्छ। विधानसभाको परम्पराअनुसार परिसरभित्र आगन्तुकहरूलाई प्रवेशको अनुमति छ र उनीहरूका निम्ति छुट्टै स्थान पनि छुट्याइएको हुन्छ। कुनै विधानसभा सदस्यले कुनै आगन्तुकलाई लिएर आउँदा अध्यक्षले अनुमति दिएको हुनुपर्छ, तर 3 जूनको दिन आगन्तुक बस्ने ठाउँबाट एसकेएमका समर्थकहरूले म र हाम्रो पार्टीका विधायकहरूमाथि जुन अपशब्द प्रयोग गरे, त्यसले विधानसभाको गरिमालाई मात्र होइन, अध्यक्षको नातामा तपाईंको गरिमामा पनि ठेस पुगेको छ।”

“यो अति नै गैरकानुनी काम सिक्किम विधानसभाभित्र भएको छ अनि एसकेएम पार्टीले पूर्वनियोजित ढङ्गमा यो काम गरेको छ। घटनामा भएका सबै विवरण म तपाईंलाई भन्न चाहँदिन, त्यहाँ उपस्थित रहेका सबैले यो घटना देखेका छन्। विधानसभाको प्रोसिडिङभित्र यो घटना पसिसकेको छ। राज्य सरकारका वरिष्ठ अधिकारीहरू यो घटनाका साक्षी छन्। त्यहाँ हुने सबै पत्रकार यो घटनाका साक्षी हुन् अनि विधानसभाको सीसीटीभी क्यामेरामा पनि यो घटना कैद भएको छ। त्यसैले अध्यक्षको नातामा तपाईंले दोषीविरुद्ध कड़ा कानुनी कारबाही गर्नुपर्छ अनि विधानसभाको मान-सम्मान र छविलाई बचाएर राख्नुपर्छ”, उनले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here