पैसाको आड़मा चामलिङले मुख्यमन्त्री गोलेलाई हटाउन खोज्नु सिक्किमविरोधी कार्य : जेकब खालिङ

0
1800
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता जेकब खालिङ, पूर्व सांसद नकुलदास राई र अन्य।

गान्तोक, 6 जून : सिक्किममा सरकार परिवर्तन भएपछि राज्यका दुई प्रमुख राजनीतिक दल एसकेएम र एसडीएफमाझ आरोप-प्रत्यारोपको क्रम तीव्र रूपमा बढ़ेर गएको छ। यसै सिलसिलामा विपक्षी दल एसडीएफले मुख्यमन्त्री पीएस गोलेलाई मुख्यमन्त्रीको पदबाट हटाउने दिशामा कानुनी पहल शुरु गरिसकेको छ भने अर्कोतिर सत्तारूढ़ एसकेएम पार्टीले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई कथित भ्रष्टाचारको सजाय दिलाएर छोड्ने घोषणा गरेको छ।

एसकेएम प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले बिहीवार गान्तोकस्थित एसकेएम पार्टी मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका छन्।

प्रवक्ता खालिङले मुख्यमन्त्री पीएस गोलेलाई मुख्यमन्त्री पदबाट हटाउन कानुनी लड़ाइँ लड्न पूर्व मुख्यमन्त्री पवन चामलिङ दिल्ली गएको कुरा प्रकाशमा आएको बताए। एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्रीले ठूल्ठूला फार्मा कम्पनी र जल विद्युत् परियोजनाहरूको पैसाको आड़मा मुख्यमन्त्री गोलेलाई हटाउन खोजिरहेको आरोप लगाउँदै यसो गर्नु सिक्किमविरोधी काम रहेको उनले ठहर गरे।

उनले भने, “पीएस गोलेलाई मुख्यमन्त्री पदबाट हटाएर देखाउने हामी एसडीएफ पार्टीलाई चुनौती दिन्छौं। एसकेएमले पनि भ्रष्टाचारको फाइल खोजेर पवन चामलिङलाई जेल पठाएर छोड्नेछ। सिक्किममा अब युद्ध शुरु भइसकेको छ। हामी पूर्व मुख्यमन्त्री चामलिङलाई अग्रिम शुभकामना दिन्छौं। अब पीएस गोले मुख्यमन्त्री पदबाट हट्ने हुन् कि चामलिङ जेल जाने हुन्। यो कुराको साक्षी अब सिक्किमे जनता बन्नेछन्।”

राज्यपालले सबै कानुनी पक्षलाई ध्यानमा राखेर पीएस गोलेलाई मुख्यमन्त्री बन्ने अनुमति प्रदान गरेको खालिङले बताए। “पूर्व मुख्यमन्त्री चामलिङले प्रजातान्त्रिक व्यवस्थाको विरोध गरेर संविधानकै खिल्ली उड़ाएका छन्”-उनले आरोप लगाए।

पीएस गोले मुख्यमन्त्री पदमा रहेसम्म एसडीएफ विधायक दलले सिक्किम विधानसभा बहिष्कार गर्ने निर्णय लिएर एसडीएफले 15 समष्टिका जनताको अपमान गरेको प्रवक्ता खालिङले उल्टो आरोप लगाए।

उनले भने, “अब जुन समष्टिमा एसडीएफ पार्टी विजयी बनेको छ, ती सबै समष्टिका जनताले आफ्ना कुरा विधानसभामा राख्न जनमत दिएका हुन्। ती समष्टिका जनताले पीएस गोले मुख्यमन्त्री बने विधानसभा बहिष्कार गर्नु भनेर जनमत दिएका होइनन्। अब यी 15 समष्टिका जनताले विद्रोह गर्नुपर्छ।”

विधानसभामा एसडीएफ विधायकहरू अनुपस्थित रहे तापनि मुख्यमन्त्री गोले स्वयंले ती क्षेत्रका जनताको समस्यालाई विधानसभामा उठाउने उनले दाबी गरे। हालै सम्पन्न निर्वाचित विधायकहरूको शपथ ग्रहण समारोहमा घटेको घटनाको उल्लेख गर्दै पूर्व मुख्यमन्त्रीले त्यस दिन अचाहिँदो कुरा राखेको प्रवक्ता खालिङले आरोप लगाए।

उनले त्यस दिनको कार्यक्रम शपथ ग्रहण एवं विधानसभा अध्यक्ष र उपाध्यक्षको चयन गर्नु मात्र रहेको जनाउँदै विधायक चामलिङले अमर्यादित, कानूनविरोधी र परम्परा विपरीत काम गरेको आरोप लगाए। विधायक चामलिङले आफू बोल्नअघि विधानसभा अध्यक्षको अनुमतिसमेत नलिएको उनले दाबी गरे। यसरी नै एसडीएफ विधायकहरूले प्रो-टेम स्पिकरलाई खादासम्म नलगाएर उनको अपमान गरेको तथा शिष्टाचार देखाउन चुकेको उनले बताए।

एसकेएम सामाजिक सञ्जाल महासचिव नवराज गुरुङले एक परिवार एक नोकरीबारे बोल्दै असलमा यो योजना एसकेएम पार्टीको रहेको दाबी गर्दै एसकेएम सरकारले अब आफूले सोचेअनुरूप यो योजना लागू गर्ने बताए।

एसकेएमले कामबाट हटाउँछ भन्ने विपक्षीले गलत सन्देश दिइरहेको बताउँदै उनले भने, “एसकेएम सरकारले कसैलाई कामबाट हटाउने छैन, तर समीक्षा गरेर अझ योग्य लाभार्थीहरूलाई यस योजनाअन्तर्गत स्थायी रूपमा काममा राख्नेछ।” पत्रकार सम्मेलनमा पूर्व सांसद तथा पार्टी उपाध्यक्ष नकुलदास राई र एसकेएम विद्यार्थी शाखाकी नेतृ जामयाङ भोटियाले पनि मन्तव्य राखेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here