भाजपाको होइन, हाम्रै कब्जामा रहनेछ दार्जीलिङ नगरपालिका : अनित थापा

0
2155
अनित थापा (फाइल फोटो)।

दार्जीलिङ, ९ जून : दार्जीलिङ नगरपालिकाका १७ जना नगरपार्षद् भारतीय जनता पार्टीमा सामेल भए तापनि दार्जीलिङ नगरपालिका आफूहरूकै पार्टीको कब्जा रहने दाबी विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव अनित थापाले गरेका छन्।

आइतवार एक प्रेस विज्ञप्ति जारी गरी थापाले दाबी गर्दै भनेका छन्, “दार्जीलिङ नगरपालिका दिल्लीबाट चल्ने राजनीतिक दलको पक्षमा होइन, तर पहाड़कै राजनीति दल गोजमुमोको पक्षमा रहनेछ। यो हाम्रो दाबी हो।” उनले विज्ञप्तिमा थप दाबी गर्दै भनेका छन्, “कतिपय विमलपन्थी नेतृत्ववर्ग र भाजपाले नजरबन्द गरेर हाम्रा १६ जना नगरपार्षद्लाई करकापमा उनीहरूको इच्छाविपरीत उक्त कार्यमा सम्मिलित गरिरहेका छन्। किनभने ती नगरपार्षद्हरूको परिवारका सदस्यहरूमार्फत् हामीलाई सम्पर्क गरिरहेका छन्। विभिन्न प्रकारको धम्की, प्रलोभन र धोकाधड़ी गरी नगरपार्षद्हरूको हस्ताक्षर बटुल्ने एक-दुई नगरपार्षद् भाजपामा सामेल भए तापनि अन्य नगरपार्षद्हरूले करकापमा मात्रै यसो गर्न बाध्य भएका हुन्।”

यो कुरालाई ती नगरपार्षद्हरू दार्जीलिङ फर्केपछि आफै खुलासा गर्ने उनको ठोकुवा छ। विज्ञप्तिमा भाजपा र विमलपन्थी गोजमुमोप्रति आक्रामक देखिएका थापाले गोर्खाहरूको जनभावनाको सम्मान र  दीर्घकालीन सपना साकार पार्नुको सट्टा भाजपाले दार्जीलिङ पहाड़का क्षेत्रीय दलहरूको क्षेत्रीय आकांक्षा अथवा प्रभुसत्ता नै हनन् गर्ने प्रयास भाजपाले गरिरहेको बताएका छन्।

थापाका अनुसार दार्जीलिङ पहाड़को राजनीतिक इतिहासमा कुनै राष्ट्रियस्तरको दलले क्षेत्रीय दलहरूको आपसी मतभेदको फाइदा उठाएर नगरपालिकाको बोर्डमा समेत राल काढ़ेको यो पहिलोचोटि हो।

“दार्जीलिङ पहाड़का गोर्खाहरूले भाजपालाई छुट्टै राज्य गोर्खाल्याण्डको पक्षधर मानेर सदैव इमानदारितासँग सहयोग गर्दै आइरहेका छन्। तर, भाजपाले भने जहिल्यै दार्जीलिङ पहाड़को जनभावनामाथि आगो लगाएर दार्जीलिङ पहाड़लाई अशान्त बनाइ पश्चिम बङ्गालभित्र राजनीति गर्ने ‘ब्याकडुअर’-को रूपमा मात्र लिने गरेको छ”, उनले थप भनेका छन्, “विगतको १०५ दिनको गोर्खाल्याण्ड आन्दोलनको समय पनि भाजपाले रमिता हेरेरै बिताएको थियो। १० वर्षदेखि दार्जीलिङ पहाड़का गोर्खाहरूले गोर्खाल्याण्डका लागि भाजपालाई कठिन परिस्थितिहरूमा पनि समर्थन गर्दै आइरहेको छ। तर, भाजपाले गोर्खाहरूको जनभावनालाई सम्मान गर्दै आफ्ना वचनहरू पालन गर्नुको सट्टा दार्जीलिङ पहाड़का क्षेत्रीय दलहरूलाई नै निमिट्यान्न पारेर राजनीति स्वार्थ पूरा गर्ने काम मात्रै गरिरहेको हालैमा १६ जना विमलपन्थी नगरपार्षद्हरूलाई बलजफ्ती भाजपामा सामेल गराएर प्रमाणित गरेको छ। भाजपाको यो कर्तुत दार्जीलिङ पहाड़का सम्पूर्ण जनता र क्षेत्रीय राजनीतिक दसहरूप्रतिको विश्वासघात हो।”

अनितका अनुसार भूमिगत नेता विमल गुरुङको अदूरदर्शिता र राजनीतिक बाध्यता तथा गोरामुमोको सत्ताप्रतिको लालचलाई ढाल बनाएर भाजपाले दार्जीलिङ पहाड़का क्षेत्रीय राजनीतिक संस्कार र क्षेत्रीय राजनीतिक भावनामाथि जुन आघात गरेको छ, त्यो अति नै दुर्भाग्यपूर्ण छ।

उनले विज्ञप्तिमा भनेका छन्, “दुई-चार नेताहरूको राजनीतिक बाध्यता, भूल र स्वार्थलाई हतियार बनाएर एक राष्ट्रियस्तरको राजनीतिक दल भाजपाले दार्जीलिङ नगरपालिकाको बोर्डमाथि राल काड़्नु अति नै लज्जास्पद कुरो हो। यद्यपि भाजपाको उक्त स्वार्थलाई हामी कदापि पूरा हुनदिने छैनौं।’’

दार्जीलिङ पहाड़मा भइरहेको विकास व्यवस्थापन र अहिले दार्जीलिङमा रहेको शान्ति शृङ्खलालाई  भाजपाले सहन गर्न नसकिरहेको थापाको भनाइ छ। यसका साथै भाजपाले दार्जीलिङ पहाड़लाई फेरि  अशान्त अनि अस्थिर बनाएर बङ्गालभित्र राजनीति गर्ने षड़यन्त्र गरिरहेका उनको आरोप छ।

“हामी पहाड़लाई फेरि अग्निकुण्डमा होम्न चाहदैनौं र दार्जीलिङ पहाड़का क्षेत्रीय राजनीतिक संस्कार र क्षेत्रीय राजनीतिक प्रभुसत्तामाथि हस्तक्षेप सहन पनि गर्नेछैनौं। यदि हाम्रा राजनीतिक परम्परा र राजनीतिक संस्कारमाथि भाजपाले हस्तक्षेप गर्छ भने यसको जवाब हामी पनि खुलेर दिनेछौं’’, थापाले चेताउनी दिएका छन्, “यसैले उक्त विषयलाई लिएर यदि पहाड़ अशान्त हुन्छ भने यसको सम्पूर्ण दायी भाजपा र विमल गुरुङहरू हुनुपर्नेछ। पहाड़को राजनीतिक संस्कारमाथि राष्ट्रिय दलको हस्तक्षेप कदापि सहँदैनौं।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here