युवा कङ्ग्रेस अध्यक्षसहित करिब १०० कङ्ग्रेसी भाजपामा सामेल

0
1579
भाजपामा सामेल हुँदै कङ्ग्रेसी युवाहरू।

सिलगढ़ी, ९ जून : करिब एकसय समर्थकसहित नक्सलबारी-मतिगढ़ा समष्टिका युवा कङ्ग्रेस अध्यक्ष अजय महन्तो आइतवार भाजपामा सामेल भएका छन्। आज एक कार्यक्रमबीच भाजपामा सामेल भएका महन्तोले कङ्ग्रेसका स्थानीय शीर्ष नेताहरूले युवाहरूको विकासका लागि कुनै कार्य गर्न नदिएको तथा युवाहरूको विकासमा जहिल्यै बाधा बनेकोले आज कङ्ग्रेस त्यागेर भाजपामा सामेल बनेको खुलाए।

उनले भने, “मैले इमानदारपूर्वक कङ्ग्रेस पार्टीका लागि काम गरिरहेको थिएँ। तर, पार्टीका केही वरिष्ठ नेताहरूले मेरो सकारात्मक कार्यलाई जहिल्यै आँखीओझेल गरे। पार्टीमा मेरो कार्यको मूल्याङ्कन हुनका सट्टा उल्टै मेरा राम्रो कार्यहरूमा बाधा पुऱ्याउने कार्य भयो। त्यसैले आज म मेरा समर्थकसहित भाजपामा सामेल भएको हुँ। म ममता सरकारको गुण्डा राज समाप्त गर्न चाहन्छु, त्यसैले यो केवल भाजपामार्फत् सम्भव छ।”

अर्कोतिर अजय महन्तो र उनका समर्थकहरू भाजपामा सामेल हुँदा कङ्ग्रेसलाई कुनै नोक्सान नहुने दार्जीलिङ जिल्ला कङ्ग्रेस कमिटीका उपाध्यक्ष अमिताभ सरकारको भनाइ छ। उनले अजयमाथि धेरै आपराधिक मामिला रहेको र ती आपराधिक मामिलाबाट बच्नका लागि भाजपामा सामेल भएको बताए।

सरकारले गरेको दाबीका अनुसार अजय महन्तोमाथि धेरै आपराधिक मामिला रहेको थाहा पाएपछि पछिल्लो मार्च महिनामा नै उनलाई पार्टीले उक्त पदबाट बर्खास्त गरेको थियो।

“आपराधिक मामिला झेलिरहेका कसैले कङ्ग्रेस त्यागेर भाजपामा सामेल हुँदा हाम्रो पार्टीलाई कुनै प्रभाव पर्दैन। २२ मार्चको दिन एकजना युवालाई पानीघट्टा मोडमा हमला गरेपछि पार्टीले अजय महन्तोलाई पदबाट बर्खास्त गरेको थियो।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here