दार्जीलिङ, 10 जून : सोमबार गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) स्टेरिङ कमिटीका सदस्य अजय एड्वर्डलाई दार्जीलिङ सदर पुलिसले डिटेन गर्यो। के कारण उनलाई पुलिसले डिटेन गरेको हो, त्यसबारे ठोस जानकारी पाइएको छैन।
आइतबार एड्वर्डले पुलिस प्रशासनले दार्जीलिङका 17 नगरपार्षद्को घरमा गरिरहेको खानतलाशीविरुद्ध बयान दिएका थिए। आज यसै बयानको कारण उनलाई सदर पुलिसले डिटेन गरेको हुनसक्ने लख काटिएको छ। स्वयं एडवर्डले पनि यस्तै अनुमान गरेका छन्।
करिब सात बजे डिटेनबाट छोड़िएपछि उनले भने, “मलाई 10 बजे थानामा बोलाइएको थियो। म 10 बजे नै थानामा आए। तर, के कारण मलाई किन थानामा बोलाइएको हो, थाहा छैन। किनभने झण्डै 10 घण्टा बस्दा पनि मलाई कुनै प्रश्नै गरिएन। हिजो मैले हाल दिल्लीमा रहेका दार्जीलिङका 17 जना नगरपार्षद्को घरमा पुलिसले लगातार गरिरहेको रेडविरुद्ध बोलेको थिए। मैले पुलिसको कारबाहीको घोर विरोध गरेको थिए। त्यसै बयानलाई लिएर आज मलाई थानामा बोलाएको हुनसक्छ।”
यस्ता पुलिसी अन्याय अत्याचारविरुद्ध गोरामुमो पार्टीले सधैँ आवाज उठाउनुपर्ने उनले बताए। “जहाँ अन्याय-अत्याचार हुन्छ, त्यहाँ हामी बोल्नुपर्छ। चाहे जुनैसुकै पार्टीविरुद्ध अत्याचार भएको होस्, हामी बोल्नुपर्छ। गोरामुमो पार्टी बोलेकै हुनुपर्छ”, एडवर्डले थपे, “हिजो मैले भनेकै थिए, सबै पार्टीले दार्जीलिङमा शान्ति चाहँदैछन्। दार्जीलिङमा शान्ति स्थापना गर्ने दायित्व पुलिस प्रशासनको पनि हो। तर, पुलिस प्रशासनले लगातार रेड गरिरहेको छ। गोजमुमो पहिलो खेमाका नेता आरपी वाइबालाई हिजो पुलिसले पक्राउ गरेको छ।”
यी गोरामुमो नेताले पुलिसले 80 वर्ष पुगेका विमलपन्थी नेता आरपी वाइबालाई लड़ाई लड़ाई कुटेर अनुहार नीलो बनाएको पनि आरोप लगाए।
पुलिसले दार्जीलिङ पहाड़मा जुन अन्याय-अत्याचार गरिरहेको छ, त्यसविरुद्ध गोरामुमो पार्टी जहिल्यै बोल्ने पनि उनले भनाइ छ। यसका साथै उनले दार्जीलिङमा रहेको पुलिसी गुण्डागर्दी बन्द हुनुपर्ने र दार्जीलिङलाई भय र आतङ्कमुक्त बनाइनुपर्ने बताए।
अजयले भने, “हामी न पुलिससँग डराउँछौं न काम नै बिगार्छौं। हामी कुनै पार्टीका नेतासँग पनि डराउँदैनौं।”
उल्लेखनीय छ, अजय एड्वर्डलाई डिटेन गरेको खबर पाएलगत्तै आज गोरामुमो कार्यकर्ता सदर थानामा भेला भएका थिए।सदर थानाअघि आक्रोशलाई दबाएर शान्त बसेका यी गोरामुमो कार्यकर्ताहरूले अजय एड्वर्ड छुटेलगत्तै पुलिस प्रशासनविरुद्ध व्यापक नाराबाजी गरेका थिए।