
दार्जीलिङ, 12 जून : आरपी वाइबाको पक्राउमाथि अनित थापाको बयानलाई ‘गोहीको आँसु’-को संज्ञा दिँदै विमल गुरुङपन्थी विद्यार्थी मोर्चाका साङ्गठनिक सचिव सञ्जीव सुवेदी छेत्रीले वाइबाको पक्राउमा विनय-अनितकै हात रहेको आरोप लगाएका छन्।
बुधबार एक प्रेस विज्ञप्ति जारी गरी विद्यार्थी मोर्चाका यी नेता यस्तो आरोप लगाएका हुन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘आरपी वाइबाजस्ता वयोवृद्ध मानिसलाई बङ्गाल पुलिसले विभिन्न प्रकारका यातनाहरू दिँदा जीटीए प्रमुख अनित थापाले जुन बयान सार्वजनिक गरिरहेका छन्, त्यो गोहीको आँसु मात्र हो। आरपी वाइबाको पक्राउमा उनीहरूकै हात छ।’
सञ्जीवका अनुसार विनय-अनितहरू वास्तवमा गोर्खाल्याण्डको मुद्दाप्रति कहिले पनि इमानदार थिएनन्/छैनन्। पछिल्लो लोकसभा र विधानसभाको उपचुनाउमा नराम्रो घतले पराजित भएपछि उनीहरूले अहिले गोर्खाल्याण्डको मागमा पोस्टर टाँसेर नाटक गरिरहेका छन्।
गोर्खाल्याण्डप्रति विनय-अनित समूहले देखाएको उत्सुकताले पनि नै उनीहरूको चरित्र उदाङ्गो भइसकेको यसका साथै विमलपन्थी विद्यार्थी मोर्चाका यी साङ्गठनिक सचिवले बताएका छन्।
‘विकासको कुरा, चियाश्रमिकहरूको पर्जापट्टा, 105 दिनको हाजिरा साथै शिक्षक नियुक्तिजस्ता विषयहरूलाई लिएर चुनाउ लड़न तम्सिने विनय-अनितहरूले यसघड़ी गोर्खाल्याण्डको कुरा गर्नु जनतालाई भ्रममा पार्नुसिवाय अरू केही होइन। यो विषय निभ्ने बेलामा बत्ती ठूलो बलेकोजस्तो मात्र हो’, उनले थप भनेका छन्, ‘जुन व्यक्तिहरूले चुनाउ अघिसम्म गोर्खाल्याण्डको मागलाई पत्तोफाँट दिएनन्। जनतालाई विकासको कुरामै अल्झाइराख्ने षड़यन्त्र गरे, उनीहरूले आज एर गोर्खाल्याण्डको नाममा भावनात्मक खेल खेल्ने कसरत गरिरहेका छन्। किनभने जनताले अब उनीहरूको झूटो राजनीति र ममताकेन्द्रित विचारधाराको अर्थ बुझिसकेको कुरा उनीहरूले थाह पाइसकेका छन्।’
‘यदि विनय-अनितहरू साँच्चैमा गोर्खाल्याण्डप्रति इमानदारी देखाएका हुन् भने जीटीए त्यागेर खुला रूपमा सड़कमा आएर देखाउने’ सञ्जीव सुवेदी छेत्रीले चुनौती दिँदै, तर विनय-अनितले यस्तो गर्न नसक्ने ठोकुवा गरेका छन्।
उनले भनेका छन्, ‘जुन जीटीएलाई जनताले नै खारेज गरिसकेका छन्, त्यसैमा विराजमान भएर ममताको दया माया र भीखमा बाँचेर गोर्खाल्याण्ड भन्नुचाहिँ उनीहरूले लाज पचाउने काम गरेका हुन्। यदि उनीहरू गोर्खाल्याण्डका साँचो समर्थक भएको भए विमल गुरुङजस्ता गोर्खा जातिको हित सोच्ने मान्छे आजसम्म यसरी भूमिगत हुनुपर्ने थिएनन्। असङ्ख्य गोर्खाल्याण्डप्रेमीहरू आफ्ना घर परिवार र जन्मस्थलदेखि टाढ़ा हुनुपर्ने थिएनन्। आज जनमत गुमाएपछि एक्कासी सपनामा धताएको जस्तो गोर्खाल्याण्ड भन्नु विनय-अनितहरूको नैतिकता नभएर केवल सत्ता बँचाइराख्ने चाहनामात्र रहेको कुरा स्ष्ट देखिँदैछ।’
उनले गोर्खाल्याण्डलाई जनसपना र जनआकांक्षाको चरम सीमा बताएका छन्। साथै गोर्खाल्याण्ड दुई पैसा र उच्च पदको लोभमा स्वाभिमान बेच्ने नेताहरूको टुँडीखेल होइन भन्दै यो कुरालाई अनित-विनयहरूले बुझ्नुपर्ने बताएका छन्।
‘पापाको पनि लोभ, चीचीको पनि लोभ’ गर्ने उनीहरूजस्ता जबर्जस्ती नेता बन्न खोज्नेहरूले गोर्खाल्याण्डजस्तो पवित्र शब्दलाई उच्चारण गर्न मिल्दैन। यसका लागि त्याग र समर्पण चाहिन्छ, जुन कुरा विमल गुरुङले आफू टाड़ा रहेर पनि जनताको विचारलाई मर्न नदिएर सिद्ध गरिसकेका छन्। भोलिको दिनमा जनताको भावनालाई कसरी कदर गर्नुपर्छ र कसरी शहीदहरूको उत्सर्गलाई न्याय दिनुपर्छ त्यो हामीले सोचिसकेका छौं’, सञ्जीवले भनेका छन्, ‘यसमा विनय-अनितजस्ता स्वार्थी र उनीहरूका हिमायतीहरूले टाउको दुखाउने कुरै छैन। प्रत्येक समय ममतालाई रिझाउनका लागि आफ्नै दाजुभाइमाझ फुट ल्याएर र सम्पूर्ण पहाड़भरि सन्त्रासको वातावरण सृजना गरेर के स्थापित गर्न खोजिएको हो? यो कुरा जनताअघि स्पष्ट भइसकेको छ।’
गोर्खाल्याण्डभन्दा ठूलो ममतालाई गुण तिर्न विनय-अनितहरूलाई साह्रो परिरहेकोले पोस्टर टाँसेर गोर्खाल्याण्ड आन्दोलन गर्ने योजनामा लिप्त रहेको सञ्जीव सुवेदी छेत्रीले बताएका छन्। यसका साथै केवल जनतालाई छल्नका लागि र जनताको भावनासँख खेल्नका लागि मात्र उनीहरूले विभिन्न प्रकारका योजना बनाइरहेको र यसबाट जनता सधैँ सतर्क बन्नुपर्ने उनको भनाइ छ।
के भनेका थिए अनित थापाले ?
चार दिन अघि सिलगढ़ीबाट पक्राउ गरिएका गोर्खा जनमुक्ति मोर्चा (विमल खेमा)-का केन्द्रिय उपाध्यक्ष आरपी वाइबालाई चाँड़ोभन्दा चाँड़ो रिहाइ गरिनुपर्ने माग विनयपन्थी गोजमुमोका महासचिव अनित थापाले गरेका थिए। सोमबार राति एक प्रेस विज्ञप्ति जारी गरी थापाले आरपी वाइबाले गोर्खाल्याण्डको आवाज उठाएर कुनै गल्ती नगरेको बताएका थिए। उनका अनुसार आरपी वाइबाको उमेर र शारीरिक शिथिलतालाई हेरेर पनि पुलिसले रिहाइ गर्नुपर्ने अनितको भनाइ छ। विज्ञप्तिमा उनले भनेका थिए, “गोर्खाल्याण्ड माग्नु कुनै अपराध होइन भन्ने हाम्रो पनि भनाइ छ।” यसका साथै थापाले आफूहरूले गोर्खाल्याण्डको होइन, तर गोर्खाल्याण्ड माग्ने तरिकाको विरोध गरेको स्पष्टीकरण दिएका छन्।
‘गोर्खाल्याण्ड हरेक गोर्खाको मन-मस्तिष्कमा रहेको माग हो, जसलाई उजागर गर्नु पाउनु उनीहरूको मौलिक अधिकार पनि हो। यस हिसाबमा पनि आरपी वाइबाले कुनै अपराध गरेका छैनन् भन्ने हाम्रो भनाइ छ’, अनितले थप भनेका थिए, ‘आरपी वाइबासित हालमा हाम्रो राजनीतिक मतभेद रहे तापनि कुनै समय हामीले साथमा काम गरेका हौं। यसैले पनि हामी उनको स्वभावसित पूर्णरूपले अवगत रहेका छौं। उनी कुनै पनि प्रकारको अपराध गर्ने स्वभावका मानिस होइनन्, तर उनलाई दार्जीलिङ बाहिर बसेर पहाड़को सत्ता ताकिरहेका अगणतान्त्रिक तत्त्वहरूले फँसाउने काम गरेका हुन्।’

अनितले लगाएको आरोपका अनुसार पहाड़मा हिंसा फैलाएर कानूनदेखि बच्न भूमिहीन अवस्थामा रहेका दुई-चार नेतृत्वहरूले आफ्नो राजनीतिक भविष्य बचाउन आरपी वाइबाको गोर्खाल्याण्डप्रतिको साँचो भावनालाई बलिदेवीमा होम्ने काम गरेका हुन्। थापाले परोक्ष रूपमा विमलपन्थी नेताहरूमाथि आरोप लगाउँदै उनीहरूले आरपी वाइबासँगै पहाड़का प्रत्येक गोर्खाल्याण्डप्रेमी जनताको भावनाको फाइदा उठाइरहेको बताए।
उनले भनेका थिए, ‘सजाय आरपी वाइबा र अन्य गोर्खाल्याण्डप्रेमी जनतालाई होइन, तर ती स्वार्थी र अगणतान्त्रिक तत्त्वहरूलाई दिनुपर्छ, जसले लगातार पहाड़मा अशान्ति र अगणतान्त्रिक क्रियाकलाप गर्न सोझा सीधा गोर्खाल्याण्डप्रेमी जनतालाई उक्साइरहेका छन्।’ अनितले गोरामुमो नेता अजय एडवर्ड नेता मात्र नरहेर दार्जीलिङकै एक चर्चित व्यापारी भएकोले उनीमाथि पुलिसले सोमवार गरेको कारबाहीप्रति आपत्ति जनाएका छन्। ‘गोर्खाल्याण्डका लागि आफ्नो अभिव्यक्ति पोख्नु अजय एडवर्डको मौलिक अधिकार हो। गोर्खाल्याण्डको पक्षमा राख्दैमा उनलाई कारबाही गरिन्छ भने हामी त्यसको घोर विरोध गर्दछौं’, अनितले भनेका थिए, ‘भविष्यमा गोर्खाल्याण्डको पक्ष लिने अथवा गोर्खाल्याण्डको आवाज उठाउने कसैमाथि पनि यस प्रकारको कारबाही नदोहोरियोस् भन्ने हामी अपील गर्छौं। गोर्खाल्याण्ड गोर्खाहरूको संवैधानिक माग र अधिकार हो। यसर्थ गोर्खाल्याण्ड माग गर्दा कोही पनि अपराधी हुँदैनन्, तर गोर्खाल्याण्डको नाममा जसले हिंसा र अराजकता फैलाउने काम गरिरहेको छ, उनीहरूमाथि कारबाही गरिनुपर्ने हामी माग गर्दछौं।’


