
दार्जीलिङ, 13 मई : राजु विष्टलगायत बङ्गालका अन्य 17 जना भाजपा सांसदले केन्द्रिय गृहमन्त्री अमित शाहलगायत प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरे तथा बङ्गालका यी १८ सांसदले लोकसभामा गोर्खाल्याण्डको विधेयक पारित गरेको खण्डमा सहर्ष जीटीए चेयरम्यान पद त्याग्ने विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव अनित थापाले बताएका छन्।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी थापाले बताएअनुसार भाजपाका यी सांसदहरूले यसो गरेको खण्डमा राजु विष्टले जीटीए चेयरम्यानको चौकीबाट राजीनामा दिन दबाउ दिइरहने पर्नेछैन। गोर्खाल्याण्डका लागि राजु विष्टहरूले यति काम गर्नसकेको खण्डमा जीटीए चेयरम्यानको पद त्यागरे गरी जीटीए भङ्ग गर्नुपर्ने मागमा अघि आउने अनितको दाबी छ।
‘गोर्खाल्याण्ड मेरो पनि मनको आवाज हो। मेरो चाहना हो। म गोर्खाल्याण्डका लागि जेलबन्दीसमेत बनेको हुँ’, उनले दोहोऱ्याएका छन्, ‘मैले कहिल्यै गोर्खाल्याण्डको विरोध गरेको छुइनँ। मेरो विरोध गोर्खाल्याण्ड माग्ने तरिकासित हो। मेरो विरोध गोर्खाल्याण्डको नाममा हुने गरेको अगणातन्त्रिक क्रियाकलापहरूसित हो।’
चुनाउअघि गोर्खाल्याण्ड गठन गर्ने दाबी गर्दै महाकाल बाबाको कसम खाने राजु विष्टले अहिले गोर्खाल्याण्ड बिर्सेर समतलतिर बोल्दा जीटीएको चुनाउ यथाशीघ्र हुनुपर्ने तथा पहाड़मा आएर जीटीए भङ्ग हुनुपर्ने माग गरी दुईमुखे कुरा गरिरहेको अनितले विज्ञप्तिमा बताएका छन्।
‘गोर्खाल्याण्डको सपना देखाएर गोर्खाहरूका सांसद बनेको भाजपा उम्मेदवार राजु विष्टले चुनाउभन्दा अघि महाकाल बाबाको कसम काएर गोर्खाल्याण्ड राज्य गठन गरेरै थोड़्ने चौरस्ता परिसरबाट जनताअघि खुलारूपमा कसम खाएका हुन्। यसैले ममाथि टिकाटिप्पणी गरेर समय बर्बाद गर्नुभन्दा उनले महाकाल बाबाको कसम पूरा गरेर देखाउन् भन्ने मेरो सुझाउ छ’, उनले भनेका छन्।
थापाले लगाएको आरोपका अनुसार राजु विष्टले पनि जसवन्त सिंह र एसएस अहलुवालियाले झैं छेपारे नीति शुरु गरिसकेका छन्। उनका अनुसार विमल गुरुङले अझै आफू गोर्खाल्याण्डका लागि प्रतिबद्ध रहेको र गोर्खाल्याण्ड राज्य गठन गरेरै छोडने कुरा गरिरहेका छन् भने अर्कोतिर उनीहरूको सासंद राजु विष्टले बङ्गालभित्रकै कुनै व्यवस्थालाई नै स्थायी समाधान भनेर थोप्ने सङ्केत दिइरहेका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘भाजपाले गोर्खाहरूको गुण तिर्ने सोचेको छ भने अथवा आफै पनि गोर्खा भएको नाताले साँच्चै इमानदार छ भने राजु विष्टले बङ्गाल विभाजन गरी गोर्खाल्याण्ड राज्य निर्माण हुनेछ भनेर खुल्ला भनुन्। यदि कुरा घुमाएर वा जनताको आँखा छलेर बङ्गालभित्रकै व्यवस्थालाई स्थायी समाधान भनेर गोर्खाहरूलाई थोप्ने हो भने विगतका टुरिस्ट सांसद जसवन्त सिंह, एसएस आहलुवालिया र राजु विष्टमा कुनै फरक रहनेछैन।’
अनितले विज्ञप्तिमा थप भनेका छन्, ‘राजु विष्टले स्थायी समाधानको कुरा गर्नु, मुकुल रायले बङ्गाल विभाजन हुँदैन भन्नु सबै बङ्गालभित्रकै कुनै व्यवस्थामाथि ठामठिम गर्ने षड़यन्त्र नै हो। यदि बङ्गालभित्रकै व्यवस्थामा बसेर गोर्खाहरूको विकास गर्ने फर्मुला भाजपाको पनि हो भने मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़मा जुन विकास गरिरहेकी छन् अनि पहाड़वासीलाई जसरी माया गरिरहेकी छन्, त्यो सबैले देखिरहेका छन्। यसैले भाजपाले उक्त फर्मुला अपनाएर पहाड़वासीलाई बोरामा सुताउनुको सट्टा चुनाउअघि जनतालाई देखाएका सपना र कसमहरू पूरा गरुन्।’