दार्जीलिङ, 14 जून : दार्जीलिङ पहाड़मा तृणमूल सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले ‘रेन अव् टेरर’ चलाइरहेको भाजपाका दिग्गज नेता मुकुल रायले बताएका छन्। साथै दार्जीलिङ पहाड़मा राज्यले गरिरहेको अन्याय-अत्याचारको तीखो शब्दमा निन्दा गरेका छन्।
शुक्रबार राज्यपाल केशरीनाथ त्रिपाठीलाई भेटवार्तापछि पत्रकारहरूलाई सम्बोधन गर्दै मुकुलले यस्तो बयान दिएका हुन्। उनका अनुसार दार्जीलिङमा ममता सरकारले जुन रेन अव् टेरर चलाइरहेको छ, त्यो सबैको आँखाअघि छर्लङ्ग छ।
‘दार्जीलिङ जिल्लामा भारतीय जनता पार्टीले 4 लाखभन्दा अधिक भोटले चुनाउ जितेपछि नै त्यहाँ रेन अव् टेरर चलिरहेको छ’, मुकुलले थपे, ‘जेलभित्र जुन अन्याय-अत्याचार गरिएको छ, त्यो अकल्पनीय छ।’ आजको भेटवार्तामा दार्जीलिङ चलिरहेको ‘राज्य आतङ्क’-को सबै प्रमाण राज्यपालअघि राखेको बताए।
यसका साथै दार्जीलिङ पहाड़को समस्याको स्थायी राजनीतिक समाधानको पक्षमा रहेको दोहोर्याए। ‘भाजपा चाहन्छ, दार्जीलिङको पहाड़को स्थायी राजनीतिक समाधान हुनुपर्छ’, उनले भने।
अर्कोतिर दार्जीलिङ पहाड़मा भइरहेको पुलिसी अत्याचारको तीखो शब्दमा निन्दा गर्दै यस्ता अन्याय-अत्याचारलाई तत्कालै रोक्न दार्जीलिङका पुलिस अधीक्षक अमरनाथ केलाई खबरदारी गराए।
एकजना 80 वर्षका अवकाशप्राप्त वृद्ध सैनिक (आरपी बाइबा)- लाई जेलभित्र थुनेर कुटपिट गरिएको छ बताउँदै यो कुरालाई अमरनाथले मनमा खिलेर राख्नुपर्ने बताएका छन्।
यसअवसरमा दार्जीलिङका सांसद राजु विष्ट पनि उपस्थित थिए। राज्यपालले दार्जीलिङ पहाड़लगायत आज उठाइएका अन्य मुद्दाहरूलाई ध्यानपूर्वक सुनेको पनि मुकुलले जनाए।