17 जून : विमलपन्थी मोर्चाले दीयो जलाउने, विनयपन्थी मोर्चाले स्मृति सङ्कल्प दिवस मनाउने

0
1932
शनिबार पत्रकारहरूलाई सम्बोधन गर्दै बारूद थापा।

कालेबुङ, 15 जून : पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा राज्य प्राप्तिका लागि आफ्नो प्राण गुमाउने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न तथा उनीहरूको उत्सर्गलाई सम्झिँदै आगामी 17 जूनको दिन दार्जीलिङ पहाड़लगायत तराई र डुवर्सवासीलाई दीयो जलाइदिने गोर्खा जनमुक्ति मोर्चा (पहिलो खेमा)-का प्रमुख विमल गुरुङले अपील गरेका छन्। गुरुङले पछिल्लो 12 मईको दिन एक प्रेस विज्ञप्ति जारी यस्तो अपील गरेका थिए।

यसैबीच, 17 जूनकै दिन विनयपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो)-ले पनि स्मृति सङ्कल्प दिवस मनाउने बताएको छ। शनिवार कालेबुङमा पत्रकारहरूसँग कुराकानी गर्दै विनयपन्थी गोजयुमो केन्द्रिय उपाध्यक्ष बारूद थापाले शहीदहरूको स्मृतिमा कालेबुङलगायत दार्जीलिङ, खरसाङ, मिरिक आदि ठाउँमा स्मृति सङ्कल्प दिवस मनाउने निधो गरेको बताएका छन्।

थापाका अनुसार 17 जूनदेखि नै संसदको सत्र चल्ने भएकोले पनि उनीहरूले त्यसदिन गोर्खाल्याण्डप्रति भाजपाको ध्यानार्कषण गराउन  विनयपन्थी युमोले स्मृति सङ्कल्प दिवस मनाउने भएको हो। विनयपन्थी युमोले त्यसदिन कालेबुङको डम्बरचोकमा स्मृति सङ्कल्प दिवस पालन गर्नेछ।

यसबारे जानकारी गराउँदै बारूद थापाले भने, “17 जूनदेखि संसदको सत्र शुरु भइरहेको छ। त्यसैले संसद सत्रलाई गोर्खाहरूको इच्छा आकांक्षाको सन्देश दिनका लागि हामीले स्मृति सङ्कल्प दिवस पालन गर्ने निर्णय गरेका हौं।”

“गोर्खाल्याण्ड नाममा भाजपाले भोट जितेको छ। आज मात्र होइन 2009 र 2014-मा पनि भाजपाले गोर्खाल्याण्डको नाममा चुनाउ जितेको हो”, उनले थपे, “2019-सम्पूर्ण गोर्खाले गोर्खाल्याण्डको नाममा भोट दिएका छन्। घरी घरी गोर्खा जातिलाई भारतीय जनता पार्टीले ढाँट्ने र छल्ने काम गर्नु हुँदैन। त्यसै कारण पनि हामीले 17 जूनदेखि उनीहरू (भाजपा)-लाई झस्काउने काम गरिरहेका छौं।”

विनयपन्थी युवा मोर्चाका यी नेताका अनुसार 17 जूनको दिन दीयो बालेर उनीहरूले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नेछौं। उनले आगत दिनमा आफूहरूले संसद भवनअघि र जन्तर मन्तरमा गोर्खाल्याण्डको मागमा विरोध प्रदर्शन पनि गर्ने दाबी गरेका छन्। साथै उनले अब युमो मोर्चा (विनयपन्थी)-ले लगातार गोर्खाल्याण्डका लागि आन्दोलन गर्ने बताए। “भारतमा एकजना गोर्खा बाँचिञ्जेलसम्म गोर्खाल्याण्डको माग बाँचिरहेछ”, बारूदले भनेका छन्।

अर्कोतिर यसभन्दा अघि 12 जूनकै दिन विमल गुरुङले 17 जूनको दिन शहीदहरूलाई सम्झिँदै उनीहरूको श्रद्धाञ्जलीलाई अर्पण गर्न तथा र उत्सर्गको स्मरणमा दीयो बालिदिने दार्जीलिङ पहाड़, तराई र डुवर्सवासीलाई अपील गरेका थिए। उनले विज्ञप्तिमा भनेका थिए, “17 जून 2017-को दिन दार्जीलिङ पहाड़मा बङ्गाल सरकारले जबर्जस्ती बङ्ग्ला भाषा लागू गर्ने निर्णयको विरोधमा निस्किएको जुलूसमा बङ्गाल पुलिसले बर्बरतापूर्वक गोली चलाउँदा हाम्रा निर्दोष भाइहरूको ज्यान गयो। त्यसपछि जनताले स्वस्फुर्त सहभागिता जनाएको छुट्टै राज्यको आन्दोलनलाई दबाउन बङ्गाल सरकार र पुलिस प्रशासनले धेरै हतकण्डा अपनाए। त्यसैक्रममा क्रममा हाम्रा योद्धा शहीद बने। उनीहरू हाम्रो जाति-माटो-अस्तित्व र चिह्नारीका लागि शहीद बनेका हुन्।”

विमल गुरुङ (फाइल फोटो)।

उनले थप भनेका थिए, “2007-मा गोजमुमोको गठनपछि शहीद बनेका ती अमर आत्माहरूअघि मेरो शिर सदैव नतमस्तक बन्दछ। म अझैपनि भन्छु-उनीहरूको बलिदान खेरो जानेछैन।मेरो अन्तिम सास रहुञ्जेलसम्म उनीहरूले देखेको छुट्टै राज्य गोर्खाल्याण्डको सपना साकार पार्न म प्रयासरत् रहनेछु। उनै अमर शहीदहरूको आत्मालाई सम्झिँदै आउँदो 17 जूनको साँझ सम्पूर्ण दार्जीलिङ पहाड़, तराई अनि डुवर्सवासीले आ-आफ्ना घरको सिकुवामा कम्तीमा एउटा दीयो जलाइदिने म विनम्र अनुरोध गर्छु। कसैको घरको दीयो निभेको छ, तर उनले जातिका लागि छोड़ेर गएको प्रकाश अझै निभेको छैन। एउटा दीयो जलाऊँ, जातिको मर्यादा बचाऊँ।”

उल्लेखनीय छ, पछिल्लो वर्ष पनि एक प्रेस विज्ञप्ति जारी गरी विमल गुरुङले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न दीयो जलाइदिने दार्जीलिङ, तराई-डुवर्सवासीलाई अपील गरेका थिए।

यद्यपि त्यसबेला विनयपन्थी मोर्चाले परोक्ष रूपमा यसको विरोध गर्दै शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने पवन दिन 27 जुलाई बताएको छ।

गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले पछिल्लो वर्ष आफ्ना कार्यकर्ताहरूलाई पार्टीको निर्देश दिँदै भनेका थिए, ‘मलाई हाम्रा पार्टीका कतिपय नेतृत्वहरूले 17 जूनमा मोमबत्ती जुलूस र मोमबत्ती बाल्ने सल्लाह दिनुभयो-जसलाई म स्वीकृति दिने पक्षमा छुइनँ। कारण-वीरेन भुजेलद्वारा प्रसारित विमल गुरुङको मोमबत्ती बाल्ने अपील अगावै आएकोले यदि हामीले मोमबत्ती बाल्यौं र मोमबत्ती जुलूस गर्‍यौं भने विमल गुरुङको अपीललाई स्वीकारेको बुझ्छ। अनि विमल गुरुङको अझै पहाड़मा वर्चस्व छ भन्ने प्रमाण हुनेछ। हामीले हाम्रा शहीदहरूलाई श्रद्धाञ्जली दिने पवन दिन हो-27 जुलाई। कृपया बुझ्नुहोला।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here