भर्ना समस्या समाधान गर्न विश्वविद्यालयको निर्माण अत्यावश्यक : विनयपन्थी विमो

0
1134
विनयपन्थी विमो उपाध्यक्ष विश्वास छेत्री।

दार्जीलिङ, 16 मई : महाविद्यालयहरूमा पहाड़का विद्यार्थीहरूलाई अनलाइन भर्नाले  जुन समस्या सिर्जना गरेको छ, त्यसको समाधान विश्वविद्यालयमार्फत् हुने विनय तामाङपन्थी गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा (गोजविमो)-ले दाबी गरेको छ।

आइतवार विनयपन्थी गोजविमोका उपाध्यक्ष विश्वास छेत्रीले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो दाबी गर्दै यथाशीघ्रै  राज्य विश्वविद्यालय शुरु गर्ने विषयमा आधिकारिक पहल शुरु गरिनुपर्ने माग गरेका छन्।

सरकारी महाविद्यालयहरूमा अनलाइन एडमिशन गरिने नियम लागू भएपछि कम अङ्क प्राप्त गरी उत्तीर्ण हुने विद्यार्थीहरूलाई समस्या भइरहेको भन्दै छेत्रीले उल्लिखित समस्या समाधानका लागि  पहाड़का विद्यार्थीहरूका लागि पहाड़का महाविद्यालयहरूमा आरक्षणको व्यवस्था गरिनुपर्ने मागमा राज्य सरकारलाई पत्राचार गरेकोमा गोजविमोको तर्फबाट जीटीएका बीओए अध्यक्ष अनित थापाप्रति आभार प्रकट गरेका छन्।

पहाड़का विद्यार्थीहरूले आरक्षण अथवा कुनै छुट नपाएको खण्डमा धेरैजना विद्यार्थीले आफ्नो शिक्षालाई निरन्तर गर्न नसक्ने आशङ्काले विद्यार्थी मोर्चा पनि चिन्तित रहेको विमो उपाध्यक्ष छेत्रीले बताएका छन्।

“दार्जीलिङ पहाड़मा यो समस्या यसवर्ष मात्र देखिएको होइन। हरेक वर्ष नै विद्यार्थीहरूले भर्ना समस्या झेल्दै आइरहेका छन्। यो समस्यालाई समाधानलाई सधैँका लागि समाधान गर्नु हो भने पहाड़का लागि छुट्टै विश्वविद्यालय निर्माण गरिनु अतिनै अनिवार्य छ। यसैले राज्य सरकारले अध्यादेशसम्म जारी गरिसकेको राज्य विश्वविद्यालय चाँड़ोभन्दा चाँड़ो शुरु गरियोस् भन्ने हाम्रो माग रहेको छ”, उनले थप भनेका छन्, “यदि राज्य विश्वविद्यालय निर्माण भयो भने पहाड़का महाविद्यालयहरूका लागि छुट्टै योजना बनाउन सकिन्छ, जसले गर्दा भर्नालगायत सबै प्रकारका समस्याको समाधान गर्नसकिन्छ। यसैले जीटीए अध्यक्ष अनित थापालाई राज्य विश्वविद्यालय शुरु गर्नका लागि चाँड़ोभन्दा चाँड़ो औपचारिक कार्यहरू पूरा गरियोस् भनी हामी अपील गर्दछौं।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here