२३ जून : दार्जीलिङमा टिकटमा कविता साहित्य तरङ्ग कार्यक्रम

0
2822

दार्जीलिङ, १७ जून : दार्जीलिङका नयाँ तर उत्साही युवाहरूद्वारा गठित कला सङ्गम मञ्चद्वारा प्रतिवर्ष आयोजन गरिने टिकटमा कविता ‘साहित्य तरङ्ग’ -को तेस्रो प्रकरण आउँदो २३ जूनको दिन स्थानीय गोर्खा दुःख निवारक सम्मेलन (गोदुनिस)-मा सम्पन्न हुनेछ।

मञ्चका सदस्य सुमन लामिछानेका अनुसार टिकटमा कविता ‘साहित्य तरङ्ग’ -को यसपालिको प्रकरणलाई पछिल्ला दुई  प्रकरणको तुलनामा अझ राम्रो र फराकिलो बनाउने सोचअनुरुप सदस्यहरूले कार्य गरिरहेका छन्।

पछिल्ला दुई प्रकरणमा दार्जीलिङ पहाड़का स्रष्टाहरूलाई समावेश गरिएको थियो। यद्यपि यसपटकको कार्यक्रममा नेपाल गोर्खाका चर्चित गजलकार प्रदीप रोदन पनि उपस्थित रहनेछन्।

उनका अनुसार यसपटकको टिकटमा कविता साहित्य तरङ्ग कार्यक्रममा राजेन्द्र भण्डारी (कालेबुङ), रेमिका थापा (मङ्पू), प्रदीप रोदन (नेपाल), मनोज बोगटी (कालेबुङ), शैलेन्द्र समदर्शी (तीनधारे), सञ्जीव छेत्री (खरसाङ), रञ्जीत गुरुङ (मिरिक), सुमित्र अविरल (दार्जीलिङ), योगिता राई (दार्जीलिङ) र श्रेया प्रधान (दार्जीलिङ)-ले निर्धारित १० मिनटको समयावधिभित्र आ-आफ्ना कविता, गजल, मुक्तक वाचन गर्नेछन्।

साहित्यप्रति मरिमेट्ने र उत्साही युवाहरूको समूह कला सङ्गम मञ्चको दुई वर्षअघि गठन भएपछि यो मञ्चले टिकटमा कविताको दुईवटा प्रकरण सफलतापूर्वक आयोजन गरिसकेको छ।

साहित्यलाई पनि अन्य विधाजस्तै व्यावसायिक बनाउने तथा साहित्यको प्रवाह पहुँच पाठकहरूमा दीर्घदियादी तरङ्ग सिर्जना गरोस् भन्ने मञ्चको उद्देश्य हो।

सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने मञ्चले स्रष्टाहरूलाई कविता वाचनका लागि मञ्च मात्र प्रदान नगरेर सहभागी स्रष्टाहरूलाई जेथाअनुसार परिश्रामिक पनि दिने गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here