आरपी वाइबालाई बिनाशर्त रिहाइ गरिनुपर्ने अनित थापाको माग

0
1240
अनित थापा (फाइल फोटो)।

दार्जीलिङ, 17 जून :  विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का केन्द्रिय समिति उपाध्यक्ष आरपी वाइबालाई रिहाइ गर्नुपर्ने मागमा सोमबार विनयपन्थी गोर्खा जमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव अनित थापाले दार्जीलिङ पुलिसका उच्चाधिकारीहरूसँग भेटवार्ता गरेको एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइएको छ।

पुलिसका उच्चाधिकारीहरूसँगको भेटवार्तामा थापाले आरपी वाइबाको शारीरिक अवस्था र उमेरलाई ध्यानमा राखेर बिनाशर्त रिहाइ गरिनुपर्ने माग गरेको बताइएको छ। थापा स्वयंले एक प्रेस विज्ञप्ति जारी यसबारे जानकारी गराएका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, “भारतको कानून व्यवस्थाप्रति मेरो अगाध श्रद्धा अनि सम्मान रहेको छ। तथापि वाइबाको पक्राउलाई लिएर भने हामीले प्रशासनसमक्ष उनको वयस्क उमेर र स्वास्थ्यलाई ध्यानमा राख्दै रिहाइको अपील गरेको छु।” थापाले वाइबालाई असामाजिक तत्त्वहरूले आफ्नो स्वार्थका लागि मोहोरा बनाएको पनि बताएका छन्। यसै कुरालाई उनले पुलिस अधिकारीहरूअघि राखेका थिए।

उनले थप भनेका छन्, “कानून अनि प्रशासन जनताको सहयोग र सुरक्षाको निम्ति हो। मानिसहरूको बोल्ने, हाँस्ने या भनौ अभिव्यक्तिको स्वतन्त्रताको सुरक्षा गरिनुपर्छ। साधारण मानिसहरूले खुलारूपमा वा स्वतन्त्रतापूर्ण बोल्ने वा आफ्नो तर्क राख्ने मौका पाउनुपर्छ। प्रशासन अनि कानूनलाई लिएर मानिसहरूको मनमा त्रास वा नकारात्मक भावना रहनुको सट्टा विश्वास अनि आदरको भाव उत्पन्न हुनुपर्छ। म चाहन्छु कानून व्यवस्था अनि जिल्ला प्रशासनले आगामी दिनहरूमा पनि यस्तै कुनै राजनीतिक दबाउ र पूर्वाग्रह नराखी स्वतन्त्रतापूर्वक आफ्नो काम गरून्, ताकि न्याय प्रणालीमाथि सबैको विश्वास यथावत् रहोस्।”

अनितले आजको भेटवार्तालाई पुलिस प्रशासनको पक्षबाट सकरात्मक रूपमा हेरिने तथा वाइबाको रिहाइ बिनाशर्त गरिनुपर्ने अपीललाई प्रशासनले सकारात्मक रूपमा लिने कुरामा आफू विश्वस्त रहेको पनि विज्ञप्तिमा बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here