मोर्चाको दुवै खेमाद्वारा शहीदहरूप्रति श्रद्धाञ्जली

0
2020
शहीदहरूलाई श्रद्धाञ्जली अर्पणको कार्यक्रममा गोर्खाल्याण्डको माग गरिएका प्ला-कार्ड लिएर विनयपन्थी मोर्चा कार्यकर्ताहरू।

दार्जीलिङ, 17 जूनः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को दुवै खेमाले आज दार्जीलिङमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा राज्यप्राप्तिका लागि आफ्नो प्राणको बलिदान दिने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि गोजमुमो (पहिलो खेमा)-का अध्यक्ष विमल गुरुङले आज साँझ दार्जीलिङ पहाड़, तराई र डुवर्सवासीलाई दीयो जलाइदिने अपील गरेका थिए। त्यसैअनुरूप विमलपन्थी कार्यकर्ता एवं जनताले आ-आफ्नो घरमा दीयो जलाएर छुट्टै राज्य गोर्खाल्याण्डका लागि प्राणको आहूति दिने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे।

यसै क्रममा आज अज्ञात ठाउँमा विमल गुरुङले दीयो जलाएर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे। यसअवसरमा उनीसँग शीर्षस्थ नेताहरू पनि थिए। शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिरहेको एक भिडियो पनि जारी गरेका छन्।

यस्तै विमलपन्थी गोजमुमो महासचिव रोशन गिरीले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेको भिडियो जारी गरेका छन्। उनले उक्त भिडियोमा भनेका छन्, “दुई वर्षअघि हाम्रा गोर्खे सन्तानले आफ्नो जीवन अर्पण गरेर गोर्खाल्याण्ड आन्दोलन गरेका थिए। 1986 देखि अहिलेसम्म शहीद भएका सबैप्रति हामीले श्रद्धाञ्जली अर्पण गरेका छौं। उनीहरूले दिएको त्यागको हामी सम्मान गर्दछौं। हामी गोर्खाल्याण्डको मागप्रति निरन्तर काम गर्न प्रतिबद्ध छौं। उनीहरूका त्याग खेर जानेछैन।”

अर्कोतिर 2017 मा भएको गोर्खाल्याण्ड आन्दोलनताका शहीद भएका मानिसहरूका स्मरणमा आज विनयपन्थी गोजमुमोले चोक बजारमा श्रद्धाञ्जली कार्यक्रम आयोजन गर्‍यो।

चोक बजारमा आयोजित एउटा कार्यक्रममा बोल्दै विनयपन्थी मोर्चा नेता सतीश पोखरेलले भने, “हामी 2017 मा भएजस्तो प्रकारको आन्दोलनको विरोधमा थियौं, गोर्खाल्याण्डको विरोधमा थिएनौं। त्यतिबेला आन्दोलनले कुनै दिशा र योजना पाएको थिएन। त्यसैले सिंहमारीमा आजकै तारिखमा 11 जनाको ज्यान गयो।”

विनयपन्थी गोजमुमोले संसदमा गोर्खाल्याण्डको बिल पेश गर्नुपर्ने माग राखेको छ। आजको कार्यक्रम युवा मोर्चाले आयोजन गरेको थियो।

“भाजपाले 2009 देखि तीनवटा कार्यकालसम्म गोर्खाल्याण्डको मागमा दार्जीलिङबाट भोट लिएको छ। यसपटक पनि उनीहरूले ठूलो सङ्ख्यामा यहाँबाट भोट पाएका छन्। उनीहरूले जनताका भावनासँग मात्र नखेलुन्। भर्खरै शुरु भएको पहिलो संसद सत्रमा गोर्खाल्याण्डको बिल पेश गरेर उनीहरूले शहीदहरूका सपना पूरा गरून्”, विनयपन्थी युवा मोर्चा नेता अनित खातीले भने। हिंसात्मक आन्दोलनबाट गोर्खाल्याण्ड प्राप्त हुन नसक्ने उनले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here