तृणमूलमाथि कोष दुरुपयोग गरेको आरोप, माकपाद्वारा नक्सलबारी ग्राम पञ्चायत कार्यालयअघि धरना

0
1596
माकपाले निकालेको प्रतिवाद ऱ्याली।

सिलगढ़ी, 17 जून : नक्सलबारी ग्राम पञ्चायत कार्यालयमा विकासका लागि आएको कोषमा अनियमितता र दुरुपयोग भएको आरोप लगाउँदै मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-कार्यकर्ताहरू सोमबार ग्राम पञ्चायत कार्यालयअघि धरनामा बसे।

धरनामा बस्नअघि  यी माकपा कार्यकर्ताहरूले पानीघट्टा मोडदेखि ग्राम पञ्चायत कार्यालयसम्म प्रतिवाद र्‍याली पनि  निकालेका थिए। उक्त प्रतिवाद र्‍यालीमा उनीहरूले तृणमूल सरकारविरुद्ध व्यापक नाराबाजी गरे।

यसअवसरमा माकपा कार्यकर्ताहरूले नक्सलबारी निवासी बाह्रौं कक्षाकी छात्रासँगको दुष्कर्मका आरोपीविरुद्ध पनि कठोर कारबाही गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरे।

यसअवसरमा नक्सलबारी ब्लकका माकपा महासचिव माधव सरकारले भने, “यसअघि नक्सलबारी ग्राम पञ्चायतलाई माकपाले सञ्चालन गरिरहेको थियो, तर पछि अनेकन षड़यन्त्र गरी बन्दुक र छुरी देखाएर  जबर्जस्ती तृणमूल कङ्ग्रेसले ग्राम पञ्चायत आफ्नो अधीनमा बनायो। पछिल्लो 6 जूनमा तृणमूल कङ्ग्रेसले हाम्रा सदस्यहरूलाई पैसाको लोभ देखाएर किन्यो। यस्तो हुँदा पनि पुलिस मूकदर्शक बन्यो।”

सरकारले लगाएको आरोपका अनुसार अहिले ग्राम पञ्चायतको विकासका लागि आएको कोषको व्यापक दुरुपयोग भइरहेको छ।

“300 मिटरको सड़क बनिनुपर्ने तर केवल 200 मिटरको सड़क बनिँदैछ”, उनले अभियोग लगाउँदै भने, “कामको जाँच नगरी बील पास भइरहेको छ। साथै सदस्यहरूलाई मास्टररोलमा जबर्जस्ती हस्ताक्षर गर्न लगाइँदैछ।”

उनले तृणमूल सदस्यहरूले गैरकानुनी ढङ्गमा ग्राम पञ्चायत सञ्चालन गरिरहेको आरोप पनि लगाए।

यसैबीच ग्राम पञ्चायत प्रधान अरुण घोषले माकपा कार्यकर्ताहरूले लगाएको सबै आरोप झूटो र निराधार रहेको ठोकुवा गरेका छन्।

प्रधान घोषले दाबी गर्दै भने, “हाम्रा सदस्यहरूले गैरकानुनी ढङ्गमा ग्राम पञ्चायत सञ्चालन गरिरहेछ भन्ने कुराको कुनै ठोस प्रणाम उनीहरूसँग छैन। कोषको दुरुपयोग भइरहेको छ भन्ने उनीहरूको आरोप पनि एकदमै झूटो र निराधार हो। हामी यस प्रकारको झूटो र निराधार आरोपको तीखो शब्दमा भर्त्सना जनाउँछौं।

उनले गरेको दाबीका अनुसार वर्तमान ग्राम पञ्चायतले छोटो समयमा नै क्षेत्रको सुन्दरीकरण, नाला र सड़कको निर्माणजस्ता धेरै विकासकार्य गरिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here