दार्जीलिङ, 18 जून : आफ्नो कार्यकालको पहिलो दिन नै दार्जीलिङका लोकसभा सांसद राजु विष्टले गोर्खा स्वाभिमानलाई गौरवपूर्ण उच्चता दिने कार्य गरेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विमल गुरुङले बताएका छन्। मङ्गलबार सांसद विष्टले संसद सदस्यको शपथ ग्रहण नेपाली भाषामा लिएको सन्दर्भमा गुरुङले यस्तो बताएका हुन्।
आज एक प्रेस विज्ञप्ति जारी गरी विमलले भनेका छन्, ‘उनले (राजु विष्टले) भारतको संसदमा नेपाली भाषामा शपथ लिएर हाम्रो जातिका इतिहास र भूगोललाई बलियो बनाउने काम गरेका छन्। भारतको संविधानको आठौं अनुसूचीमा मान्यताप्राप्त नेपाली भाषामा सांसद राजु विष्टले शपथ ग्रहण गर्दा आज हाम्रा पुर्खाको सपना पूरा हुँदैगरेको स्पष्ट भएको छ। उनले गोर्खा स्वाभिमान र अस्तित्वको हितमा काम गर्ने जुन वचनहरू चुनाउकालमा दिएका थिए, त्यसको शुरुआत उनले आज नै गरेकोले गोर्खा जनमुक्ति मोर्चाको पक्षमा अनि भारतभरि छरिएर बसेका गोर्खा जातिको पक्षमा म सांसद विष्टलाई हार्दिक अनि बधाई टक्राउँछु।’
चुनाउ प्रचारअवधि ‘राजु विष्टले नेपाली बोल्नु जान्दैन्’ भनी विरोध गर्ने विपक्षीहरूलाई सांसद विष्टले आज गतिलो जवाफ दिएको आफूहरूले महसुस गरेको उनको भनाइ छ।
विमलले राजु विष्टलाई मात्र होइन, तर नेपाली भाषामा शपथ लिएकोमा सिक्किमका युवा सांसद इन्द्रहाङ सुब्बालाई पनि गोर्खा जनमुक्ति मोर्चा तथा सम्पूर्ण भारतीय गोर्खाको पक्षमा धन्यवाद एवं बधाई दिएका छन्।
त्यसैगरी सांसद जोन बारलाले हिन्दी भाषामा शपथ लिएर डुवर्सका हिन्दीभाषीहरूको गौरव बढ़ाउने महान् कार्य गरेको बताउँदै गुरुङले सांसद बारलालाई धन्यवाद र बधाई दिएका छन्।