नेपाली भाषामा शपथ लिनपाउँदा आफैलाई भाग्यशाली ठानेको छु : इन्द्रहाङ सुब्बा

0
2300
संसद भवनअघि सांसद इन्द्रहाङ सुब्बा।

गान्तोक, 18 जूनः संसदभित्र पहिलोपटक प्रवेश गरेका सिक्किमका युवा सांसद इन्द्रहाङ सुब्बाले संसद सदस्यको रूपमा मङ्गलवार नेपाली भाषामा शपथ लिन पाउँदा ठूलो गर्व महसुस गरेको जनसंवादसँग कुराकानी गर्दै बताएका छन्।

आज सिक्किमका यी सबैभन्दा युवा सांसद र दार्जीलिङका सांसद राजु विष्टले नेपाली भाषामा शपथ ग्रहण गरे। यसपटक संसदमा तीनजना गोर्खा अनुहारले प्रवेश गरेका छन्, जसमा सिक्किमबाट इन्द्रहाङ सुब्बा, दार्जीलिङबाट राजु विष्ट र उत्तराखण्डको टिहरीबाट माला राज्यलक्ष्मी शाह छन्। आज विष्ट र सुब्बाले नेपाली भाषामा शपथ लिए तापनि शाहले भने अङ्ग्रेजी भाषामा शपथ लिइन्।

यता, जनसंवादसँग टेलिफोनिक कुराकानीमा सांसद सुब्बाले भने, “नेपाली भाषामा शपथ लिन पाउँदा म आफैसँग अत्यन्त खुशी छु। नेपाली भाषामा संसदभित्र शपथ लिन पाउनु अत्यन्त ठूलो कुरो हो। हाम्रा भाषा सङ्ग्रामीहरूको अथक सङ्घर्ष र ठूलो योगदान/बलिदानको कारण नेपाली भाषाले देशको संविधानको आठौं अनुसूचीमा मान्यता पाएको हो। यसैले आज मैले आफ्नो मातृभाषामा शपथ लिएर उनीहरूले भाषाका लागि दिएको योगदानलाई थोरै भए पनि सम्मान गर्नसके भन्ने लागेको छ।”

यस अवसरमा सुब्बाले भाषा सङ्ग्रामी एवं सिक्किमकी पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीलगायत सबै भाषा सङ्ग्रामीको योगदान र सङ्घर्षलाई स्मरण गरे।

“हाम्रो भाषा संवैधानिक मान्यता पाइसकेको भाषा हो। आफ्नै भाषामा यसरी शपथ ग्रहण गरी हामीले राष्ट्रिय मञ्चमा हाम्रो क्षेत्रीय परिचय र आकांक्षालाई जिउँदो र दिगो राख्न सक्नेछौं”, उनले थपे, “मैले चुनाउ जितेपछि नै संसदभित्र नेपाली भाषामा शपथ लिने अठोट गरेको हुँ। किनभने क्षेत्रीय परिचय र आकांक्षासँगसँगै म नेपाली भाषाप्रति मोह पनि देखाउन चाहन्थेँ। किनभने नेपाली भाषालाई संवैधानिक मान्यताका लागि हाम्रा अग्रज भाषा सङ्ग्रामीहरूले जुन योगदान र बलिदान दिए, त्यसको कदर हुनुपर्छ भन्ने म चाहन्छु।” उनका अनुसार संसदमा नेपाली भाषामा शपथ लिँदा देशका कुना-काप्चाले नेपाली भाषा मानिसहरू पनि भारतीय हुन् भन्ने बुझ्न सजिलो पर्नेछ। साथै राष्ट्रियस्तरको मञ्चमा नेपाली भाषा प्रतिध्वनित हुनेछ।

अर्कोतिर, दार्जीलिङका सांसद  राजु विष्टले पनि नेपाली भाषामा शपथ लिए। उनी संसदभित्र ढाका टोपी र नेपाली पोशाक पहिरिएर पसेका थिए। यतिमात्र होइन, उनले संसदमा ‘जय गोर्खा’-को नारा पनि लगाए। संसदभित्र जय गोर्खाको नारा लगाउने उनी पहिलो गोर्खा सांसद हुन्।

यसैबीच आज शपथ लिएपछि सोशल मिडियामा पोस्ट लेख्दै चुनाउअवधि गरिएका सबै वाचा पूरा गर्न आफू सङ्कल्पित रहेको विष्टले दाबी गरेका छन्।

यता, आज दुई युवा गोर्खा सांसदले संसदमा नेपाली भाषामा शपथ लिएकोमा भाषा सङ्ग्रामी एवं सिक्किमकी पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीले ठूलो हर्षबोध गरेकी छन्।

यस सन्दर्भमा जनसंवादसँग कुराकानी गर्दै उनले भनिन्, “आज दुई युवा सांसदले नेपाली भाषामा शपथ लिनु ठूलो कुरो हो। यो अत्यन्त हर्षको कुरो हो। म उनीहरूलाई धन्यवाद दिन चाहन्छु। उनीहरूले आफ्नो मातृभाषाप्रति जुन मोह र लगाव देखाएर शपथ लिए, त्यसले उनीहरूको प्रतिबद्धतालाई पनि झल्काएको छ। उनीहरूबाट जातिले अझ धेरै कुराको अपेक्षा राखेको छ। जाति र भाषाका लागि उनीहरूले भविष्यमा धेरै कार्य गर्ने कुराको आशा राख्न सकिन्छ।”

उल्लेखनीय छ, नेपाली भाषा आन्दोलन भारतव्यापी बन्दै गइरहेको समय मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)- नेता रतनलाल ब्राहाणले 22 मार्च 1971-मा भारतीय संसदको तल्लो सदनमा पहिलोपटक नेपाली भाषामा शपथ लिएका थिए। नेपाली भाषाका लागि यो ऐतिहासिक क्षण थियो। त्यसपछि नेपाली भाषाले मान्यता पाउनअघि राज्यसभामा र भाषाले मान्यता पाइसकेपछि लोकसभामा तत्कालीन मार्क्सवादी कम्युनिस्ट पार्टीका सांसद र वर्तमान क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) अध्यक्ष आरबी राईले नेपाली भाषामा शपथ लिएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here