दार्जीलिङ, 19 जून : दार्जीलिङ नगरपालिकाका प्रशासक (एड्मिनिस्टेटर) नियुक्त भएका दार्जीलिङका अतिरिक्त जिल्लापाल (जेनरल) मयुरी बसुले बिहीवारदेखि आफ्नो पदभार सम्हालेकी छन्। बसुले आज नगरपालिकाका प्रशासकको पदभार सम्हालेलगत्तै निर्वाचित नगरपार्षद्हरू जनप्रतिनिधित्व गुमेर ‘जनता’ बनेका छन्।
उल्लेखनीय छ, बुधवार शहरी विकास एवं नगरपालिका मामिला विभागले एक आदेश जारी दार्जीलिङ नगरपालिकालाई भङ्ग गरेको थियो। पश्चिम बङ्गाल नगरपालिका कानून 1993 को धारा 431 को उपधारा (2) अन्तर्गत दार्जीलिङ नगरपालिका भङ्ग गरिएको आदेश-पत्र बताइएको थियो।
अतिरिक्त जिल्लापाललाई नियुक्त गरिएको प्रशासकको कार्यकाल 6 महिनाका लागि हो अथवा अर्को चुनाउ नभएसम्मका लागि हो, त्यो निश्चित रूपले तोकिएको छैन।
पछिल्लो लोकसभा र विधानसभा चुनाउमा राज्यको शासक दल तृणमूल कङ्ग्रेस र जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेशन (बीओए) सञ्चालन गरिरहेको विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को नराम्रो पराजयपछि दार्जीलिङ नगरपालिकाका 17 नगरपार्षद्ले ‘पक्ष फेर्दै’ प्रतिभा तामाङ (राई)-को नेतृत्वमा रहेको वर्तमान विनयपन्थी गोजमुमोको बोर्डविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने माग गरेका थिए।
त्यसपछि नै विनयपन्थी बोर्ड अल्पमतमा परेपछि तथा तत्कालीन नगराध्यक्ष प्रतिभा तामाङ राईले तत्कालै अविश्वास प्रस्तावका लागि बैठक नडाकेपछि दार्जीलिङ नगरपालिकामा अन्योल सिर्जना भएको थियो।
नगरपालिकाको बोर्डविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने 17 नगरपार्षद् अहिले दिल्लीमा छन्। उनीहरू केही दिनअघि भाजपामा सामेल भइसकेका छन्। आफूहरूमाथि एकाधिक मुद्दा लगाइएको र अविश्वास प्रस्तावका लागि बैठक नडाकेको कारण नै दार्जीलिङ नफर्किएको ती नगरपार्षद्हरूले बताएका छन्।
उल्लेखनीय छ, दार्जीलिङ नगरपालिकामा 32 सीट छन्। यद्यपि हाल 30 नगरपार्षद् छन्। वार्ड नम्बर 17 का नगरपार्षद् रामजन गोलेले स्वास्थ्य कारणले नगरपार्षद् पदबाट राजीनामा दिएपछि तथा वार्ड नम्बर 20 का नगरपार्षद् मणि प्रधानको निधन भएपछि वर्तमानमा दार्जीलिङ नगरपालिकामा 30 पार्षद् रहेका हुन्। यी 30 मध्ये 13 नगरपार्षद् अझै विनय तामाङपन्थी गोजमुमोसँगै छन्।