एसडीएफ सत्तामा आउँछ भन्नु चामलिङको दिवास्वप्ना हो : गोले

0
1575
दिल्लीबाट राज्य फर्केका मुख्यमन्त्री गोलेलाई स्वागत जनाइँदै।

गान्तोक, 22 जून : सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) नयाँ दिल्लीको भ्रमण सिद्ध्याएर शनिवार सिक्किम फर्किएका छन्। लगभग 12 दिनको लामो आधिकारिक दिल्ली भ्रमणपछि मुख्यमन्त्री आज सिक्किम फर्किएका हुन्।

मुख्यमन्त्री गत 10 जूनको दिन दिल्ली गएका थिए। मुख्यमन्त्री गोलेलाई आज बाघडुग्रा हवाईअड्डा र रम्फूमा मन्त्री, विधायक, सरकारी अधिकारी, सत्तारूढ़ एसकेएम पार्टीका समर्थक र आमजनताले स्वागत जनाए। आईपीआर विभागले दिएको जानकारीअनुसार बाघडुग्रामा मुख्यमन्त्रीलाई मन्त्री र सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाए। यसैगरी, रम्फूमा पनि मुख्यमन्त्रीलाई स्वागत जनाउने मानिसहरूको घुइँचो लागेको थियो।
राज्यमा प्रवेश गरेपछि मुख्यमन्त्री गोले रम्फूस्थित पर्यटक अतिथिगृहमा केही क्षण विश्राम गरे। यस अवधि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री गोलेले भने, “एसडीएफ पार्टीले पुनः सत्तामा आउँछु भन्नु दिवास्वप्नामात्र हो। सिक्किमे जनताले पाँच वर्षका निम्ति सत्ता एसकेएम पार्टीलाई सुम्पिसकेका छन्। एसकेएम सरकार पाँच वर्षसम्म सुचारू चल्नेछ। आफ्नो दिल्ला भ्रमणताका केन्द्रिय नेतृत्वसित सिक्किमका विभिन्न मुद्दासहित पाकिम हवाईअड्डा र सेवक-रम्फू रेलवे परियोजनाबारे कुरा गरेको जानकारी दिए।
पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “दिल्लीमा मैले केन्द्रमा नवगठित सरकारका प्रधानमन्त्री र वरिष्ठ मन्त्रीहरूलाई भेटेर बधाई र शुभकामना प्रकट गरें। यस अवसरमा उनीहरूसित सिक्किमका थाँतीमा रहेका मुद्दा र आर्थिक सङ्कटबारे विशेष रूपमा चर्चा गरें।”

एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले केन्द्र सरकारसमक्ष राखेको आर्थिक सङ्कटको आँकड़ा गलत रहेको र केन्द्रलाई भ्रमित तुल्याउने कार्य गरेको सम्बन्धी दिएको बयानबारे उनले भने, “हामीले केन्द्र सरकारसमक्ष पेश गरेको आँकड़ा सही हो। यस विषयमा सरकारले चाँड़ै श्वेत-पत्र जारी गर्नेछ।”
लिम्बू-तामाङ सीट आरक्षण मुद्दामा पनि केन्द्रिय नेतृत्वहरूसँग चर्चा गरेको अवगत गराउँदै उनले यी मुद्दाहरू केन्द्र सरकारले अवश्य समाधान गर्ने आशा व्यक्त गरे। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले एसकेएम सरकार ‘एडहक’ रहेको विषयमा दिएको बयानप्रति प्रतिक्रिया जनाउँदै उनले भने, “सिक्किमे जनताले यसको जवाब विधानसभा चुनाउमा दिइसकेका छन्।”
यसैगरी एसडीएफ पार्टीले 60 हजार युवालाई नोकरी दिने गरेको घोषणामाथि बोल्दै भने, “25 वर्षे कार्यकालमा एसडीएफ सरकारले गर्न चाहेको भए हुन्थ्यो, तर गर्न सकेन।” एसडीएफ पार्टीले तयार गरेको एक परिवार एक नोकरी नीति पूर्णरूपले असंवैधानिक रहेको बताउँदै यसलाई नियममा बाँधेर संवैधानिक प्रक्रिया बनाउने दिशामा आफ्नो सरकारले काम गरिरहेको उनले बताए।

11 अप्रेलको चुनाउ फाइनल नरहेर आगामी तीनवटा निर्वाचन क्षेत्रको चुनाउलाई फाइनल चुनाउ भनेको सन्दर्भमा उनले भने, “11 अप्रेलको चुनाउ नै फाइनल हो। अब रहल तीनवटा निर्वाचन क्षेत्रमा उपचुनाउ हुनेछ। यो उपचुनाउमा एसकेएम पार्टीले सबै आसनमा विजय हासिल गर्नेछ।”

उल्लेखनीय छ, आफ्नो 10 दिवसीय भ्रमण अवधि मुख्यमन्त्री गोलेले देशका राष्ट्रपति रामनाथ कोविन्दका साथै प्रधामन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृह मन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, वित्त मन्त्री निर्मला सीतारमण, डोनर मन्त्री डा. जितेन्द्र सिंहलगायत अन्य विभिन्न केन्द्रिय मन्त्रीलाई भेटे। यसैगरी मुख्यमन्त्री गोले प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आयोजित पाँचौं नीति आयोगको बैठक, केन्द्रिय वित्त मन्त्रीसित वित्त मन्त्रीहरूको बजेटपूर्व बैठक, राजपथमा आयोजित पाँचौं अन्तरराष्ट्रिय योग दिवस आदि कार्यक्रममा पनि सहभागी बने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here