दार्जीलिङ, 24 जून : कालेबुङ जिल्लाको मुङ्पेल बस्तीमा बाँसको झोलुङ्गे पुल मरम्मती गर्ने क्रममा दुर्घटनामा परी ज्यान गुमाउने आइत राज सुब्बा (23) र टेकबहादुर सुब्बा (52)-का परिवारलाई एक-एक लाख तथा घाइतेहरू क्रमैले नुहाङ सुब्बा (35), रीवेन्द्र सुब्बा (26), टीकाराम सुब्बा (29), विवेक सुब्बा (19) र सुकमान सुब्बा (36)-को उपचारका लागि 50-50 हजार दिने जीटीएका बोर्ड अव् एड्मिनिस्टेटर अनित थापाले घोषणा गरेका छन्।
यसका साथै उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नका साथै घाइतेहरूको शीर्घ स्वास्थ्य लाभको कामना गरेका छन्।
सोमबार एक प्रेसविज्ञप्ति जारी गरी थापाले भनेका छन्, “यो दु:खद घड़ीमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सदैव पीडितहरूको साथमा रहेको छ। प्रियजन गुमाएका पीड़ितहरूको खुशी हामी फर्काउन नसके तापनि उनीहरूको दु:खबोध गर्न सक्छौं। यसैले जीटीएको तर्फबाट पीड़ितहरूलाई सहयोगस्वरूप मृतक परिवारलाई 1 लाख अनि घाइतेहरूलाई 50 हजार सहयोग राशि प्रदान गर्ने घोषणा गर्दछु।”
विज्ञप्तिमा उनले यस प्रकारका दुर्घटनाहरू फेरि फेरि नदोहोरियोस् भन्ने आफूहरूको चाहना रहेकोले जीटीए क्षेत्रमा जति पनि पुराना र जोखिमपूर्ण पुलहरू छन्, ती सबैको रिपोर्ट तत्कालै जीटीएलाई गरिदिने अपील गर्दै त्यस्ता पुराना र जोखिमपूर्ण पुलको विभागीय सर्वेक्षण गराएर जीटीएले तत्कालै निर्माणकार्य शुरु दाबी गरेका छन्।
यसका साथै उक्त दु:खद घटनाका पीड़ितहरूको साथमा सबै प्रकारका सहयोग जुटाउन जीटीए तत्पर रहेको थप दाबी जीटीएका बीओए अध्यक्ष अनित थापाले गरेका छन्।
उल्लेखनीय छ, कालेबुङ जिल्लाको खण्ड-एकअन्तर्गत पर्ने दुर्गम गाउँ मुङ्पेल बस्तीमा बाँसको कच्ची झोलुङ्गे पुलको मरम्मती गरिरहेको समय दुर्घटना हुँदा दुईजना गाउँलेले ज्यान गुमाएका थिए भने पाँचजना घाइते भएका थिए। जसमध्ये रीवेन्द्र सुब्बाको अवस्था गम्भीर रहेकोले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा रेफर गरिएको छ। जबकि अन्य चारजनाको उपचार कालेबुङ जिल्ला अस्पतालमा भइरहेको छ।
स्मरणरहोस्, कालेबुङ शहरदेखि करिब 45 किलोमिटर टाढ़ा पर्ने मुङ्पेल बस्तीको तुरुङ खोलामा रहेको उक्त झोलुङ्गे पुलले वरिपरिका गाउँहरूलाई मुङ्पेल बस्तीसँग जोड़्ने गर्थ्यो। यद्यपि अत्यन्त जीर्ण उक्त पुल निर्माणका लागि सम्बन्धित निकायले कुनै ध्यान नदिएपछि गाउँलेहरू प्रतिवर्ष मिलेरै बाँसले मरम्मती गर्दै आइरहेका थिए। यसै क्रममा हिजो गाउँलेहरूले पुल निर्माण गरिरहेको बेला एकपट्टिको तार चुँड़िएर यो घटना घटेको बताइएको छ।