विनय तामाङलाई गोरामुमोको प्रश्न- १५ प्रतिशत बोनसमा हस्ताक्षर गर्ने को?

0
1065
मङ्गलबार गोरामुमोमा सामेल भएका लाप्चे बस्तीका मानिसहरू।

दार्जीलिङ, २५ जून : पछिल्ला केही दिनयता गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले आफ्नो साङ्गठनिक गतिविधि र विस्तार तीव्र पारेको छ। यसैक्रममा मङ्गलबार सिंहमारी-तकभर समष्टिअन्तर्गत पात्लेबाँसस्थित सार्वजनिक भवनमा गोरामुमोको साङ्गठनिक सभा सम्पन्न भयो।

उक्त सभालाई सम्बोधन गर्दै गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन लेबर युनियन (एसपीडब्ल्यूयू)-का महासचिव एसके लामाले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङ र गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई, डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-माथि तीखो शब्दमा कटाक्ष गरे।

लामाले विनय तामाङमाथि प्रश्न गर्दै भने, ‘१५ प्रतिशत बोनसमा कसले हस्ताक्षर गरेको हो? श्रमिकहरूको हक- हित र अधिकार खोस्नेहरूले जनताको हितको काम गर्नु सक्दैन।’ उनले एचपीडब्ल्यूयूले सधैँ  चियाश्रमिकहरूको हितमा काम गरिरहने ठोकुवा पनि गरे। साथै गोरामुमोसँग  लाप्चे बस्तीका चियाश्रमिकहरू जोड़िरहेकोमा आभार प्रकट गरे।

सभालाई गोरामुमो स्टेरिङ कमिटीका सदस्य अजय एड्वर्डले पनि सम्बोधन गरे। उनले  गोरामुमोले लोभ लालच देखाएर कसैलाई पार्टीमा सामेल नगर्ने तर मुद्दा र सिद्धान्त देखाएर गोरामुमो जनतासमक्ष जाने गरेको बताए। एड्वर्डले लाप्चे बस्तीका मानिसहरूको प्रत्येक दुःख-सुखका लागि गोरामुमो सधैँ अघि आउने बताए।

‘यसपालि गोर्खाको ढलेको शिर उठेको छ। हाम्रो दीर्घकालीन मुद्दालाई फत्ते गराउनका लागि सबै अघि आउनुपर्छ’, उनले भने। गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङले जानकारी गराएअनुसार विभिन्न राजनीतिक दल त्यागेर ५० घर गोरामुमोमा सामेल भए। उनीहरूलाई प्रमुख अतिथिको रूपमा उपस्थित स्टेरिङ कमिटीका सदस्य एड्वर्डले पार्टीमा स्वागत जनाएका थिए।

सभालाई गोरामुमोका साङ्गठनिक सचिव किशोर गुरुङले पनि सम्बोधन गरेका थिए। सभामा उनीहरूलगायत समष्टि सभापति मञ्जिल राई, उपसभापति प्रतिम लिम्बू, प्रवीण जिम्बा, गोपाल परियार, इन्द्रजीत राई , डोमा भोटिया  र उषा तामाङ उपस्थित थिए ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here