सङ्गठन विस्तारमा सक्रिय गोरामुमो

0
1256

खरसाङ, 28 जून : शुक्रबार गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक सङ्गठनको साङ्गठनिक सभा देवराली-चिम्ली ग्राम पञ्चायत क्षेत्रमा सम्पन्न भएको गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङले जानकारी दिएका छन्।

साम्पाङले दिएको जानकारीका अनुसार उक्त साङ्गठनिक सभामा गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक सङ्गठनका अध्यक्ष जेआर देवान, खरसाङ शाखाका अध्यक्ष डीपी पाख्रिन तथा किशोर थापा र बीबी थापालगायत अन्य उपस्थित थिए।

सभालाई सम्बोधन गर्दै अध्यक्ष देवानले सङ्गठनको सदस्यता ग्रहण कार्यक्रमबारे बुझाए।

बैठकमा चिम्ली-देवरालीका शाखाका लागि तेजबहादुर मोक्तानलाई संयोजक चयन गरिएको पनि मिडिया प्रभारी साम्पाङले जनाएका छन्।

सभालाई नवचयनित शाखा संयोजक तेजबहादुर मोक्तानले पनि सम्बोधन गरे। उनले आफ्नो सम्बोधनमा सङ्गठनले दिएको जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्ने बताए।

यसका साथै उनले सङ्गठनले भूतपूर्व सैनिकका परिवारहरू र विधुवीहरूको पक्षमा कार्य गर्ने कुरामा विश्वास व्यक्त गरे।

“हामीहरू गोर्खा जाति भएकोले हाम्रो जाति र माटोको मुद्दालाई टेवा दिनका लागि सुवास घिसिङको योगदान र बलिदानलाई कदर गरी उनको सपनालाई साकार बनाउन लागिपर्नु पर्नेछ”, मोक्तानले भने।

अर्कोतिर, आजै मङ्पू लाटपञ्जर समष्टिअन्तर्गत पर्ने तल्लो बाबु खोलास्थित सार्वजनिक भवनमा बाबु खोला शाखाको एक सभा काजी राईको अध्यक्षतामा सम्पन्न भयो।

सभामा प्रमोद राई, पीके सुब्बा, केएल राई,  केबी गुरुङ, निर्मल तामाङ गणेश ठकुरी र सरिता तामाङ उपस्थित थिए। सभाका वक्ताहरूले पार्टीको साङ्गठनिक गतिविधिलाई सक्रिय बनाउनुपर्ने कुरामा जोड़ दिएका थिए।

यसका साथै स्थानीय युवाहरूलाई जाति र माटोको मुद्दालाई फत्ते बनाउनका लागि अघि आएर कार्य गर्ने आह्वान गोरामुमो बाबु खोला शाखाले गरेको छ।

उल्लेखनीय छ, लोकसभा र विधानसभा चुनाउपछि गोरामुमोले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्र पारेको छ। यसैक्रममा यसले प्रतिदिन पहाड़का विभिन्न स्थानमा सभाको आयोजन गरी सङ्गठन विस्तारको कार्यलाई गति दिइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here