अनेसासले कविता लेखनमाथि कार्यशाला गर्ने

0
2206

गान्तोक, 28 जून : असम नेपाली साहित्य सभा केन्द्रिय समितिको सातौं कार्यकारी सभा आउँदो 1 जुलाईको दिन शोणितपुर जिल्लाअन्तर्गत खनामुखको गोर्खा चोकको गोर्खा भवनमा सम्पन्न हुनेछ। बिहान 10.30 बजेदेखि शुरु हुने सभामा वर्तमान जातीय मुद्दा, आगामी केन्द्रिय महाधिवेशन, साहित्य र भाषा दिवस उपलक्ष्यमा भाषा मान्यतामा असमको योगदान विषयक पुस्तक प्रकाशन, भाषा विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी, असम साहित्य सभा तथा बडो साहित्य सभासँग संयुक्त रूपले सम्पन्न हुने कार्यहरूको प्रारूप प्रस्तुत तथा शैक्षिक समस्याहरूबारेमा आगत दिनमा उठाइने कदमबारे छलफल गरिने बताइएको छ।

सभामा सबै केन्द्रिय कार्यकारी सदस्य, जिल्ला समितिहरूका  सभापति, मूल सचिव एवम् सल्लाहकारहरूलाई उपस्थितिका लागि निम्तो गरिएको छ। उल्लेखनीय छ, सभाको भोलिपल्ट अर्थात् २ जुलाईको दिन कटुवाल जयन्तीको उपलक्ष्यमा अनेसास शोणितपुर जिल्ला समिति र खनामुख बृहत्तर गोर्खा समाजको उद्योगमा कविता लेखनबारे एक कार्यशाला सम्पन्न हुनेछ।

उक्त कविता लेखन कार्यशालामा दार्जीलिङका चर्चित कवि मनप्रसाद सुब्बा प्रशिक्षकको रूपमा उपस्थित रहने बताइएको छ।

कविता लेखनप्रति इच्छुक सबैले उक्त कार्यशालामा सहभागिता जनाउन सक्ने अनेसास शोणितपुर जिल्लाकी मूल सचिव नवप्रभा अधिकारीले जनाएकी छ्न्। उनका अनुसार उक्त कार्यशाला खनामुखको सिरुवानी प्राथमिक विद्यालयमा बिहान 9 बजेदेखि शुरु हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here