दार्जीलिङ, २९ जून : भारतीय जनता पार्टी (भाजपा)-ले देशबाट गोर्खाहरूलाई खेद्ने खेल शुरु गरिरहेको आरोप गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आरोप लगाएका छन्।
भाजपाले बारम्बार गोर्खाको चिनारी दिनेछौं भन्दै छात्तीमा एनआरसीमार्फत् विदेशीको लाञ्छना मात्र नलगाएर देशबाटै खेद्ने खेल शुरु गरिसकेको तामाङको आरोप छ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘आजसम्म भारतीय गोर्खाहरूका त्याग, तपस्या र बलिदानलाई कुनै पनि दलको केन्द्रिय सरकारले महत्त्व दिनसकेको छैन। हामी गोर्खाको नाउँ राष्ट्रियस्तरमा घरी घरी आइरहने गर्छ। तर, कि त विदेशी भन्दै, कहिले नेपाली अनि कहिले भारत-नेपाल सन्धिलाई आधार बनाएर आप्रवासी भन्दै लाञ्छना लगाइरहेको कुरा गोर्खाका लागि नौलो होइन।’
यद्यपि त्यतिले मात्र सन्तुष्ट नभएर अहिले एनआरसीको माध्यमद्वारा गोर्खाहरू विदेशी हुन् भन्ने कुरालाई आधिकारिक रूपमा प्रमाण गर्न भारत सरकार लागिपरेको विनयको आरोप छ।
उनका अनुसार आफ्नो काँचो रगतले देशको माटो सिँच्ने जिउँदा गोर्खाहरू यो देशलाई सिनोजस्तै गह्नाउँछ। गोर्खाहरू सिनोजस्तो गह्नाउनुको प्रत्यक्ष उदाहरण नै असममा एनआरसीमार्फत गोर्खाहरूमाथि भइरहेको भेदभाव हो भन्ने उनको भनाइ छ।
‘घरी स्वतन्त्र सेनानी छविलाल उपाध्यायको परिवारलाई डी-भोटरको नोटिस आउँछ। घरी असमबाट विदेशी खेद्ने आन्दोलनको पहिलो महिला शहीद बैजयन्ती देवीको परिवार एनआरसीका लागि अयोग्य ठहरिन्छ’, तामाङले थप भनेका छन्, ‘अहिले असममा लागू भएको एनआरसी तिनै बैजयन्ती देवीको बलिदानको फल हो। त्यसताका भारत सरकार र आन्दोनकारीबीच भएको सम्झौताको अंश हो एनआरसी। बैजयन्ती देवीको परिवारलाई एनआरसीको चपेटमा पुऱ्याउने केन्द्रिय सरकारको हामी घोर विरोध जनाउँछौं।’
अर्कोतिर असममा जस्तै बङ्गालमा पनि भाजपाले आफ्नो राजनीतिक फाइदाका लागि एनआरसी लागू गर्दा दार्जीलिङ पहाड़, तराई र डुवर्सका गोर्खाहरू नराम्रो गरी असर पर्ने दाबीलाई विनयले पुनः दोहोऱ्याएका छन्।
लोकसभा चुनाउअवधि वर्तमान गृहमन्त्री अमित शाहले भाजपा सत्तामा आएको खण्डमा एनआरसी लागू बताएको तथा आफ्नो राजनीतिक स्वार्थलाई हेरेर बङ्गालमा एनआरसी लागू गर्ने निश्चित देखिएकोले असममा गोर्खा समुदायलाई मार्का परेझैं दार्जीलिङ तराई डुवर्समा पनि यसको नराम्रो असर पर्ने उनको दाबी छ।
‘मौखिक रूपमा गोर्खालाई एनआरसीले छुदैन भन्ने उड्न्ते हल्लाहरूमाझ यहाँ बुझ्नुपर्ने कुरा के छ भने जतिपनि भारतीय गोर्खाहरू छन्, उनीहरू एनआरसीको चपेटमा पर्दैनन् भन्ने आजसम्म कुनैपनि ऐन बनिएको छैन’, तामाङले थप भनेका छन्, ‘उदाहरणका लागि असममा बसोबास गर्ने ३० लाख गोर्खा समुदायमध्ये भर्खरै २६ जूनको दिन आएको अतिरिक्त सूचीमा लगभग एक लाखभन्दा बढ़ी गोर्खाको एनआरसीमा नाम आएको छैन। यो अतिरिक्त सूची एकदमै खतरनाक छ। किनभने यो सूचीमार्फत् जतिपनी गोर्खा समुदायलाई सूचना दिइएको छ, त्यसमा कि त वंशज (Legacy)-मा समस्या देखाएर या विदेशी (Foreigner) -को ट्याग लगाएर सूचना जारी गरिएको छ।’
उनले थप भनेका छन्, ‘यस सूचनाबारे आउँदो ११ जुलाई सम्म उनीहरूले एनआरसीको प्रक्रिया पुराउनुपर्ने बाध्यता छ। र, यदि उनीहरू प्रक्रिया पुराउन सकेनन् भने जुलाई महिनाको ३१ तारिख जब एनआरसीको अन्तिम मस्यौदा निस्किनेछ। त्यतिबेला प्रक्रिया नपुराउनेलाई सीधै विदेशी घोषित गरिनेछ। त्यसपछि सबैलाई निरोध शिविरमा (Detention Camp) राखिने अत्यन्तै दु:खलाग्दो कार्य हुने देखिन्छ।’
यसैगरी विज्ञप्तिमा उनले परोक्ष रूपले विमल गुरुङपन्थी गोजमुमो र गोरामुमोको भूमिकाप्रति पनि प्रश्न तेर्साएका छन्। विनयले भनेका छन्, गोर्खाहरूको प्रतिनिधि हौं भन्नेहरूले भाजपा र भाजपा सरकारको पक्ष लिएर एनआरसीले गोर्खाहरूलाई छुँदैन वा असर गर्दैन भन्नेहरूलाई हाम्रो प्रश्न छ -असममा भएका घटनाप्रति उनीहरूको के टेक छ? केन्द्र सरकारप्रति उनीहरूले गोर्खाहरूलाई एनसीआरले असर नपर्ने के पहलहरू गर्दैछन्? त्यसर्थ हाम्रा सम्पूर्ण पहाड़वासी अनि तराई डुवर्सका जनता जनार्दनलाई एकमुष्ट भई एनआरसीविरुद्ध खड़ा भइदिने म हाम्रो पार्टीको तर्फबाट आह्वान गर्दछु।’
विज्ञप्तिमा विनयले गोर्खालाई एनआरसीले अल्पसङ्ख्यक बनाउने दाबी गर्दै एकजुट भएर बृहत् रूपमा विरोध गरिनुपर्ने आह्वान गरेका छन्।
‘यो विरोध मेरो व्यक्तिगत या हाम्रो पार्टीको मात्र नभएर यो विरोध गोर्खा समुदायलाई तितरबितर पार्ने एनआरसीविरुद्ध हुनुपर्ने छ’, उनले भनेका छन्, ‘हामीले बारम्बार एनआरसीको विरोध गरिरहेका छौँ अनि त्यसको साथसाथै यदि आगामी दिनहरुमा एनआरसी यहाँ लागू गरिन्छ भने हामी त्यसको पनि घोर विरोध गर्नेछौं।’
आफ्नो जातिलाई बचाउनका लागि यदि सर्वोच्च न्यायालयमा रैथाने (Original Inhabitants) -वर्गका लागि मुद्दा लड्नपरे, त्यसका लागि आफूहरू तयार रहेको ठोकुवा विज्ञप्तिमा उनले बताएका छन्।