दार्जीलिङ, 30 जून : जीटीएका प्रशासक अनित थापाले चौरस्ता परिसर वरिपरि पसलेहरूले विभिन्न फुटपाथ पसल थाप्ने गरेको विषयलाई उठान गर्दै यस्ता पसलहरूले चौरस्ता परिसर पनि चोकबजारजस्तो भीड़भाड़ र होहल्लापूर्ण स्थल बनिँदै गइरहेको बताएका छन्।
आइतबार एक प्रेस विज्ञप्ति जारी गरी थापाले दार्जीलिङको एक मनोरम र पर्यटकीय तथा मानिसहरूले शान्त र आरामदायी स्थलको रूपमा चिनिने चौरस्ता अहिले अव्यवस्थित र होहल्लापूर्ण ठाउँमा परिणत भइरहेको बताएका छन्।
यसका साथै उनले चौरस्ता परिसरको सुन्दरता र गरिमालाई ध्यानमा राखेर अबउसो कुनै प्रकारको फुटपाथ पसल नराखिने पसलेहरूलाई अनुरोध गरेका छन्।
“चौरस्ता परिसरलाई सुन्दर र शान्त बनाइराख्न सबैको जिम्मेवारी हो। यसर्थ यस परिसलाई शान्त अनि मनोरम बनाइराख्न अथवा यसको गरिमा बचाइराख्न चा़ँडै दार्जीलिङ नगरपालिका कर्तृपक्षसित पनि हामी बैठक बस्नेछौं। र यस विषयमा आवश्यक पदक्षेप पनि लिनेछौं”, जीटीए प्रशासकले भनेका छन्, “सुन्दर, शान्त र सुसज्जित चौरस्ता हाम्रो लक्ष्य हो। यसका लागि हामीले कार्य पनि शुरु गरिसकेका छौं। यसको संरक्षण र संवर्द्धनका लागि जनसाधारणले पनि जिम्मेवारी बुझेर हामीलाई सहयोग गरिदिनुहुन्छ भन्ने हामीलाई विश्वास छ।”
साथै थापाले चौरस्तालाई चोकबजार हुनदिन सबैलाई एकजुट भएर पहल गरिदिने अनुरोध गरेका छन्। उल्लेखनीय छ, पछिल्ला केही दिनयता चौरस्ता परिसरमा केही फुटपाथ पसलहरू थापिँदै आइरहेको छ। यद्यपि यसबारे सम्बन्धित निकायले कुनै ठोस पहल आजसम्म गरेको छैन।