विष्टले उठाए पुलिसी अत्याचारको मुद्दा : फ्याक्ट फ्याइडिङ कमिटीमार्फत् गोर्खालाई न्याय दिनुपर्ने माग

0
1230
संसदमा दार्जीलिङको मुद्दा उठाउँदै राजु विष्ट

दार्जीलिङ, १ जुलाई : सोमबार दार्जीलिङका सांसद राजु विष्टले संसदमा दार्जीलिङमा भइरहेको ‘राज्य आतङ्क’-को मुद्दा उठाउँदै पहाड़मा भइरहेको पुलिसी अन्याय-अत्याचारको जाँच गर्न एक फ्याक्ट फाइन्डिङ कमिटी गठन गरी त्यसअन्तर्गत गोर्खा समुदायलाई न्याय दिनका साथै लोकतन्त्रको बहाली गर्नुपर्ने माग गरे।

आज संसदमा पहिलोपटक बोलेका सांसद विष्टले तृणमूल कङ्ग्रेसमाथि कटाक्ष गरे भने पछिल्लोपटक भाजपालाई फासिज्मको संज्ञा दिँदै पाठ पढ़ाउने तृकं सांसद महुआ मोइत्रालाई पनि घेर्ने कोशिश गरे।

विष्टले दार्जीलिङमा बङ्गाल पुलिसको अन्याय-अत्याचारको मुद्दालाई उठाउन गर्दै भने, ‘मेरो सम्पूर्ण क्षेत्र अहिले आपातकालजस्तो स्थितिमा रहेको छ। अति संवेदनशील र चारवटा अन्तर्राष्ट्रिय सीमाले घेरिएको क्षेत्र भए तापनि त्यहाँको तृणमूल कङ्ग्रेस सरकारले लगातार अशान्ति सधैँ  फैलाइरहेको छ।’

उनले थप भने, ‘अहंकारी सरकारको कारण यो क्षेत्रमा लगातार राजनीतिक हिंसा भइरहेको छ।  दार्जीलिङमा २०१७ मा जुन प्रतिवाद भयो, त्यसपछि तृणमूल कङ्ग्रेस र पुलिसको गुण्डा राज लगातार चलिरहेको छ। आज पनि दार्जीलिङ पहाड़का ५००० युवा घर छोड़ेर जङ्गलमा बस्न बाध्य परिरहेछ।’

यसका साथै पुलिसले कुनै पनि युवालाई पक्रेर सुमोटो केस लगाएर जेलमा हालिरहेको पनि बताए। उनले यसका लागि विमल गुरुङपन्थी नेता आरपी वाइबाको उदाहरण दिए। विष्टले संसदमा भने, ‘भर्खेरै ८० वर्षीय वृद्ध, अवकाशप्राप्त सैनिकलाई थानामा थुनेर कुटपिट गरियो। यस्तो अत्याचार त्यहाँ (दार्जीलिङ पहाड़मा)-मा लगातार भइरहेको छ।’

तृकं सांसद महुआ मोइत्रालाई घेर्दै उनले प्रश्न गरे, ‘तृणमूलकी सांसदले हामीलाई फासिज्मबारे ज्ञान दिइरहेकी थिइन्। म उनलाई सोध्न चाहन्छु, गोर्खा दाजु भाइलाई बीच सड़कमा मारिरहँदा उनी किन मौन थिइन्? जुन गोर्खाले देशलाई सुरक्षित राख्न सबैभन्दा ठूलो योगदान दिनेगर्छ, ती गोर्खाले नै आज आफैलाई असुरक्षित महसुस गरिरहेका छन्।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here