सिलगढ़ी, 2 दिसम्बर : शहरको 7 नम्बर वार्डमा घरमा काम गर्ने किशोरीसँग भएको दुष्कर्मका वृद्ध आरोपीलाई पुलिसलाई पक्राउ गरेको छ। पक्राउ परेका वृद्ध आरोपीका नाम उपेन्द्र गुप्ता हो। दुष्कर्मको घटना प्रकाशमा आएपछि यी आरोपी बेपत्ता बनेका थिए। आरोपी व्यापारी हुन्।
उनलाई मङ्गलबार राति सिलगढ़ी महिला थानाका पुलिसकर्मीले शहरको सेवक रोडबाट पक्राउ गरेको बताइएको छ। गोप्य सूचनाको आधारमा यी आरोपीलाई पुलिसले पक्राउ गर्न सफल बनेको हो। आरोपीलाई आज सिलगढ़ी अदालतमा उभ्याइयो। जानकारीका अनुसार उनलाई अदालतले न्यायिक हिरासतमा पठाएको छ।
स्मरणरहोस्, आरोपी उपेन्द्र गुप्तालाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गरी सजाय दिनुपर्ने मागमा मङ्गलवार भारतीय जनता महिला मोर्चाको तर्फबाट एसीपी ईस्टलाई एक ज्ञापन चढ़ाइएको थियो।
महिला मोर्चाकी सभानेत्री माधवी मुखोपाध्यायले एसीपीलाई ज्ञापन चढ़ाएपछि आरोपीलाई पुलिसले यथाशीघ्र पक्राउ नगरेको खण्डमा भारतीय जनता महिला मोर्चाले शिशु कल्याण विभाग र केन्द्रियस्तरसम्म आन्दोलन गर्ने चेताउनी दिएको थियो। यसका साथै महिला मोर्चाले मामिलालाई गम्भीरतापूर्वक लिएर पुलिसले आफ्नो कारबाहीलाई सक्रिय बनाउनुपर्ने माग गरेको थियो।
उल्लेखनीय छ, पक्रा परेका आरोपीको घर वार्ज नम्बर 7 मा छ। त्यसै घरमा पीड़ित किशोरीले काम गर्थिन्। पीड़ित किशोरी बिहारनिवासी रहेको बताइएको छ।
पीड़िताका घर परिवारका सदस्यहरूको आरोपका अनुसार किशोरीलाई घर मालिक उपेन्द्र गुप्ताले डर देखाइ-धम्की दिएर लगातार दुष्कर्म गर्दै आइरहेका थिए।
शारीरिक रूपले अस्वस्थ देखिएपछि पीड़ित किशोरीलाई शहरकै एक नर्सिङ होममा भर्ती गराइएको छ। यो घटनालाई लिएर खालपाड़ा पुलिस चौकीमा मामिला दर्ता गरिएको छ।