दार्जीलिङ, 3 जुलाई : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को नारी एकाइ गोर्खा राष्ट्रिय नारी सङ्गठन (गोरानासं)-ले बुधवार सिंहमारीको खोलीघरस्थित बाह्य रोगी एवं प्रसुति गृह (आईपीपी-8) -को भ्रमण गरी उक्त केन्द्रको अवस्थाबारे जानकारी लियो। यो भ्रमणमा बाह्य रोगी एवं प्रसुति गृहको दयनीय अवस्था देखेपछि जीटीएमाथि कटाक्ष गरेको छ। उक्त गृहमा पानी र बिजुलीजस्ता अत्यावश्यक र आधारभूत सुविधा नहुनुले नै जीटीएको विकासको दाबी कतिसम्म खोक्रो छ भन्ने प्रमाणित गर्ने गोरानासंले बताएको छ। उल्लेखनीय छ, बाह्य रोगी एवं प्रसुति गृह (आईपीपी-8) नगरपालिका अधीनस्थ छ।
भ्रमणपछि पत्रकारहरूसँग बोल्दै गोरानासं सदस्य मञ्जिला तामाङले गोरानासंले उक्त अस्पतालको विभिन्न अवस्था सुनेपछि सन् 2018 -मा पनि गोरानासंले भ्रमण गरेपछि सबै समस्याहरूको निराकरणका लागि सम्बन्धित विभाग विशेषगरी नगरपालिका डाक्टर, जिल्लापाल र स्वास्थ्य अधिकारीसँग कुराकानी गरेको बताइन्। र यससम्बन्धमा एक ज्ञापन पनि चढ़ाएको पनि जानकारी गराइन्। यद्यपि अस्पतालको अवस्था नसुध्रिएको बताइन्।
अर्कोतिर तामाङले अस्पतालको वर्तमान अवस्थाले जीटीएको विकासलाई उदाङ्गो पारेको बताइन्। “अस्पतालको अवस्थामा के कस्तो सुधार गर्न के कस्ता पहल गरियो भनेर जान्नका लागि आज हामीले यो अस्पतालको भ्रमण गरेका थियौं, तर अवस्था जस्तोको त्यस्तै छ। यो अस्पताल नगरपालिका अधीनस्थ रहेकोले जीटीएभित्रै पर्छ। किनभने नगरपालिकामा जीटीएकै व्यक्तिहरू छन्”, गोरानासं नेतृले भनिन्, “आज पनि यो अस्पतालको अवस्था पहिलाको जस्तै छ। कर्मचारीहरूले वेतन पाएकै छैनन्। बिजुली बत्ती नै छैन। हामीले बिजुली बत्ती जड़ान गरिनुपर्ने माग कहिलेदेखि गरेका हौं। आउँदै गरेको पानी पनि काटिएछ। अस्पतालको दुर्दशा यस्तो छ।”
उनले जीटीएलाई प्रश्न गर्दै भनिन्, “जीटीएमा रहेकाहरूले विकास गर्छु भन्दै ठूल्ठूला कुराहरू गरिरहेका छन्। विकासका धेरै ठूल्ठूला नाराहरू लगाइरहेका छन्। तर उनीहरूले विकास चाहिँ कस्तो गर्छन्। यहाँ भएकै कुराहरूलाई त राम्ररी चलाउन सकिरहेका छैनन्। जीटीएले एकजना डाक्टरलाई यो अस्पतालमा नियुक्त गर्नसकेको छैन।” एकैजना जेएनएम राखिदिएको खण्डमा पनि औषधि आदि दिनसक्ने उनको भनाइ छ। तामाङले जीटीएले के विकास गर्योउ भन्ने प्रश्न पनि गरेकी छन्। साथै चाँड़ोभन्दा चाँड़ो उक्त अस्पतालको अवस्था सुधार्न पहल गरी यसको सुचारू सञ्चालन गरिनुपर्ने माग गरेकी छन्।