मिरिक झीलमा डुबेर आमा-छोरीद्वारा आत्महत्या

0
1901
मृतक आमा-छोरीको मतदाता परिचय-पत्र।

मिरिक, 4 जुलाई : कालेबुङ सिडफार्मनिवासी आमा-छोरीले मिरिक झीलमा डुबेर आत्महत्या गरेको घटनाले बिहीवार दिनभरि मिरिकमा सनसनी फैलियो। बिहान मर्निङ वार्कमा जानेहरूले झीलमा दुईवटा शव तैरिरहेको देखेपछि घटनाबारे तत्कालै मिरिक पुलिसलाई सूचित गरेका थिए।

मृतकको पहिचान सुशिला गुरुङ (63) र सुषमा गुरुङ (31)-को रूपमा भएको छ। दुवै आमा-छोरी हुन्। प्रत्यक्षदर्शीका अनुसार दुवैले एकार्काका हात बाँधेका थिए।

मिरिक पुलिसका अनुसार उनीहरूको एक ब्याग बरामद भएको छ। जसमार्फत् दुवैको परिचय पाइएको हो। पुलिसका अनुसार सुशिला गुरुङको माइता मिरिक 9 माइल हो। उनको विवाह कालेबुङ सिडफार्मनिवासी मधुकर गुरुङसँग भएको थियो। यद्यपि केही वर्ष अघि मधुकर गुरुङको मृत्यु भएको थियो।

मर्निङ वार्कमा जाने स्थानीय मानिसहरूले आज बिहान करिब 5 बजे शव देखेको बताइएको छ। बिहान करिब 8 बजे झीलबाट दुइवटै शवलाई बाहिर निकालिएको थियो। बुधवार राति नै यी आमा-छोरीले आत्महत्या गरेको हुनसक्ने पुलिसको अनुमान छ।

आत्महत्याको कारण जान्नका लागि पुलिसले जाँच गरिरहेको छ। जानकारीका अनुसार छोरी सुषमा गुरुङले गान्तोकमा पार्ट टाइम काम गर्थिन्। साथै अध्ययन पनि गरिरहेको थाहा लागेको छ। पढ़नमा मेधावी सुषमाले प्रतियोगितात्मक परीक्षाहरूको तयारी  गरिरहेकी थिइन्।

अर्कोतिर प्राप्त जानकारीका अनुसार केही समयअघिदेखि गान्तोक बस्दै आइरहेका ती आमा-छोरीले बुधवार कालेबुङ गएका थिए। आमा-छोरीले हिजो कालेबुङस्थित घरको सरसफाइ गरेको समेत स्थानीय  सूत्रले बताएको छ।

उनीहरू हिजै कालेबुङ मिरिक गएको हुनसक्छ। यद्यपि के कारण उनीहरूले आत्महत्या गर्नपर्‍यो अथवा आत्महत्या गर्नका लागि किन मिरिक नै पुग्नु पर्‍यो, त्यसको कारण खुलिएको छैन।

मिरिक पुलिसका अनुसार दुवै शवलाई पोस्ट मर्टमका उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पठाइएको छ। घटनाबारे थप जाँच गर्नका लागि मिरिक पुलिसले कालेबुङ पुलिससँग सम्पर्क गरिरहेको पनि बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here