गान्तोक, ४ जुलाई : युनाइटेड क्रिश्चियन फेलोशिप रोङ्ग्ली जोनले बिहीवार नेपाली पत्रकारिताका पुरोधा आदि पत्रकार एवं पहिलो बाइबल अनुवादक एवं गोर्खा जाति सचेतक पादरी गङ्गा प्रसाद प्रधानको १६८औं जन्म जयन्ती आरिटारस्थित इमानुएल पेन्टिकोस्टल चर्चमा एक कार्यक्रम आयोजन गरी पालन गरियो।
पास्टर अल्बर्ट थापाद्वारा सञ्चालित पादरी गङ्गाप्रसाद प्रधानको उक्त १६८औं जन्मजयन्ती कार्यक्रममा प्रमुख अथितिको रूपमा रोगु होरेब चर्चका रेभ पास्टर फिलिप लेप्चा तथा वक्ताको रूपमा हेब्रोन पेन्टिकोस्टल चर्च लोकडाँड़ाका रेभ. तारामणि राई उपस्थित थिए। कार्यक्रममा प्रमुख अतिथि रेभ पास्टर फिलिप लेप्चाले पादरी गङ्गा प्रसाद प्रधानको जीवनी र योगदानमाथि प्रकाश पारेका थिए।
उनले आफ्नो सम्बोधनमा पादरीको योगदान केवल ईशाई समुदायमा नरहेर सिङ्गो नेपाली (गोर्खा) जाति, भाषा र पत्रकारितामा अनुकरणीय र स्मरणीय रहेको बताए। छमित लेप्चाले दिएको जानकारीका अनुसार कार्यक्रममा मण्डलीका प्रतिभाहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए।