दार्जीलिङ, 5 जुलाई : भारतीय जनता पार्टीमा सामेल भएका दार्जीलिङ नगरपालिकाका एकजना पार्षद् पुनः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -मा सामेल भएका छन्।
भाजपा छोड़ेर पुनः विनयपन्थी मोर्चामा सामेल हुने ती नगरपार्षद् गणेश सार्की हुन्। उनी वार्ड नम्बर -18 का नगरपार्षद् हुन्।
उल्लेखनीय छ, पछिल्लो 29 मईको दिन विनय तामाङपन्थी तत्कालीन बोर्डविरुद्ध प्रस्तावको प्रस्तावका लागि बैठक राख्ने माग गर्दै त्यसबेलाका नगरपालिकाकी अध्यक्ष प्रतिभा तामाङ (राई)-लाई ज्ञापन सुम्पिने 17 नगरपार्षदमध्ये गणेश सार्की पनि एक थिए। त्यसपछि उनी अन्य नगरपार्षद्सँगै भाजपामा सामेल भएका थिए। यद्यपि उनी फेरि पहिलाकै दलमा फर्केका छन्।
शुक्रवार यी नगरपार्षद् फेरि पहिलाकै दल विनयपन्थी मोर्चामा सामेल भएलगत्तै भारतीय जनता पार्टीमाथि विभिन्न आरोप लगाएका छन्। भाजपाले 2021 मा हुने राज्य विधानसभा चुनाउ जित्नका लागि केवल प्रयोग मात्र गरिरहेको, तर पहाड़का समस्याहरू समाधानका लागि भाजपा गम्भीर नरहेको नगरपार्षद् सार्कीले आरोप लगाए।
“हामी भाजपामा जाँदा गोर्खाल्याण्ड हुन्छ होला भन्ने सोचेका थियौं, तर गोर्खाल्याण्डको ‘ग’-समेत उच्चारण गरेन”, उनले आज पत्रकारहरूसँग कुराकानी गर्दै थप भने, “भाजपाले 2021 को बङ्गाल विधानसभाको चुनाउ मात्र राजनीति गरिरहेको हामीले थाह पायौं।”
आफूलाई वार्डवासीले जिताएको र वार्डवासीको एकेक समस्या बुझ्नुपर्ने आफ्नो दायित्व रहेकोले वार्डवासीको सरसल्लाहमा दिल्लीबाट फर्किएको सार्कीको दाबी छ।
अर्कोतिर उनले अन्य नगरपार्षद्हरूलाई पनि दार्जीलिङ फर्केर वार्डवासीको समस्या बुझिदिने अपील गरेका छन्।
यसैबीच, नगरपार्षद् गणेश कार्की पुनः पार्टीमा फर्किआएकोमा गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले खुशी व्यक्त गरेका छन्।
यस सन्दर्भमा बोल्दै तामाङले भने, “केही पार्षद्हरूले बोर्डविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि अचानक उनीहरू दिल्ली गई भाजपामा सामेल भएका थिए। आज एक महिनापछि 18 नम्बर वार्डका नगरपार्षद् गणेश सार्की आफ्नो स्वेच्छाले पुनः भाजपा त्यागेर हाम्रो पार्टीमा सामेल भएका छन्। हामी उनलाई पार्टीमा स्वागत जनाउँछौं।”
जानकारीका अनुसार पछिल्ला केही दिनअघिदेखि अन्य पार्षद्हरूसँगै दिल्लीमा रहेका नगरपार्षद् गणेश सार्की हिजो दार्जीलिङ फर्केका हुन् भने आज भाजपा त्यागेर पुनः विनयपन्थी मोर्चामा सामेल भएका हुन्।
स्थानीय पार्टी कार्यालयमा सम्पन्न एक कार्यक्रमबीच उनी मोर्चामा सामेल भएका हुन्। यसअवसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै गोजमुमो (विनयपन्थी) दार्जीलिङ महकुमा समितिका अध्यक्ष आलोक कान्तमणि थुलुङले भाजपाले केवल दार्जीलिङलाई अशान्त राख्न चाहेको आरोप लगाए।
राज्यमा तृणमूल कङ्ग्रेस नरहने तथा गोर्खाल्याण्ड दिने झूटो कुरा गरेर भाजपाले दार्जीलिङका नगरपार्षद्हरूलाई आफ्नो पार्टीमा सामेल गरेको उनको आरोप छ।
“राजु विष्टले चुनाउ जितेर पनि पहाड़मा कुनै फरक पर्दैन भन्ने कुरा मानिसहरूले महसुस गर्नथालेका छन्”, विनयपन्थी मोर्चा नेता थुलुङले भने।
यसका साथै भाजपामा सामेल भएका तीन-चारजना नगरपार्षद्लाई छोड़ेर अन्य सबै नगरपार्षद् पुनः पार्टीमा फर्किने दाबी गरे।
स्मरण रहोस्, विनयपन्थी गोजमुमो दार्जीलिङ नगरपालिकामा अल्पमतमा परेपछि राज्य सरकारले दार्जीलिङकी अतिरिक्त जिल्लापाल मयुरी बसुलाई प्रशासकको रूपमा नियुक्त गरेको छ। उनले पछिल्लो 19 जूनदेखि दार्जीलिङ नगरपालिकाको पदभार सम्हाल्दै आइरहेकी छन्।