सिलगढ़ी, 8 जुलाई : विस्तारा एयरलाइन्सको बाघडुग्रा-डिब्रुगढ़-दिल्ली उड़ान जी-8 715 रद्द भएपछि सोमवार केहीक्षण बाघडुग्रा हवाईअड्डा अशान्त बन्यो। तक्निकी कारणले उड़ान रद्द गरिएपछि सिक्किम र उत्तर बङ्गालका सयौं यात्रुहरू विस्तारा एयरलाइन्सका कर्मचारी र प्रबन्धकहरूमाथि आफ्नो रिस पोखाए।
उल्लेखनीय छ, विमानको उड़ान समय अपराह्न 2:10 बजे थियो। जब यात्रुहरू हवाईअड्डा पुगे, तब उनीहरूलाई विमान एकघण्टा अबेर गरी उड़्ने बताइयो। तर तोकिएको एकघण्टा पनि बित्यो, त्यसपछि तक्निकी कारणले विमानको उड़ान रद्द गरिएको सूचित गरियो।
यस्तो सुनेपछि सयौं यात्रुहरू आक्रोशित बने। विमानको उड़ान रद्द बनेपछि आपातकालीन कार्यका लागि यात्रा गरिरहेका यात्रुहरू बिचल्लीमा परे। उनीहरूले आफ्नो आक्रोश कर्मचारी र प्रबन्धकहरूमाथि पोखे।
यसअवसरमा सिक्किम सिङ्तामनिवासी कविता भूषालले भनिन्, “हामीले दिल्लीबाट लेहसम्मको टिकट काटिसकेका छौं। यदि आजै हामी दिल्ली पुग्नसकेनौं भने हामीले हाम्रो भ्रमणमा समस्या भोग्नेछौं। अनिश्चित हुनेछ। विमानमा तक्निकी गड़बड़ी हुनसक्ने समस्यालाई हामी बुझ्छौं, तर कम्पनीले यात्रुहरूका लागि वैकल्पिक उड़ान सेवाको व्यवस्था गर्न पर्नेछ।”
उनका अनुसार उक्त विमानको टिकट काट्नेहरूमा सर्वाधिक 95 जना सिक्किमका थिए। त्यस्तै अर्का यात्री मुकेश कुमार अगरवालले विमानमा केही यात्रु अघिबाटै डाक्टरहरूसँग नियुक्ति मिलाइसकेका त केही सर्वोच्च न्यायालयमा मुद्दा भएकाहरू यात्रुहरू रहेको बताए। उनका अनुसार लामो समयसम्म तर्कातर्की पनि कम्पनीले धेरजसो यात्रुको पैसा फिर्ता गर्यो भने केही यात्रुहरूका लागि भोलि मङ्गलवारको उड़ानको व्यवस्था गरिएको छ।
उड़ान रद्द भएपछि आक्रोशित बनेकी अर्की यात्रु प्रीति अगरवालले विस्तारा एयरलाइन्सलाई सर्वाधिक खराब हवाई सेवाको संज्ञा दिइन्।
उड़ान रद्द भएपछि आपातकालीन सेवाका लागि यात्रामा निस्केका यात्रुहरू अत्यधिक समस्या भोगेका थिए। जानकारीका अनुसार विस्ताराको भोलिको उड़ानमा पनि यात्रु पूर्ण छ। यससम्बन्धमा बाघडुग्रा टिकट काउन्टरमा विस्तरा एयरलाइन्सका कर्मचारीहरूबाट जानकारी लिन चाहँदा तक्निकी कारणले उड़ान रद्द भएको र यसको समाधान सूत्र खोजिसकिएको बताए। यसका साथै बाघडुग्रा हवाईअड्डाका निर्देशक पी. सुब्रमण्यमले पनि तक्निकी खराबीको कारण उड़ान रद्द भएको र एयरलाइन्सका अधिकारीले यो मुद्दाको समाधान खोजिरहेको बताए।