पैह्रो प्रभावित दार्जीलिङबारे ध्यानाकर्षण, जिम्बाद्वारा राज्यका मन्त्रीलाई ज्ञापन

0
1063
विधायक नीरज जिम्बाद्वारा राज्यका आपदा प्रबन्धन एवं नागरिक सुरक्षा मन्त्रीलाई चढ़ाएको ज्ञापन।

दार्जीलिङ, 9 जुलाई : प्राकृतिक प्रकोपको कारण दार्जीलिङ पहाड़मा भएको मानवीय र भौतिक क्षयक्षतिलाई लिएर दार्जीलिङका विधायक नीरज जिम्बाले राज्यका आपदा प्रबन्धन एवं एवं नागरिक सुरक्षा मन्त्री जावेद अहमद खानलाई एक ज्ञापन चढ़ाउँदै सोमबार बिहानपख सुकेपोखरीनजिक पुबुङ फाटकको  चटाइधुरामा गएको पैह्रोको कारण ज्यान गुमाउने दम्पतिका परिवारलाई चाँड़ो क्षतिपूर्ति राशि प्रदान गर्ने माग गरेका छन्। यसबारे जानकारी स्वयं जिम्बाले जानकारी गराएका छन्।

उनका अनुसार पीड़ित परिवार अनुग्रह राशि मात्र होइन, तर प्रभावितलाई चाँड़ोभन्दा चाँड़ो पुनर्वासको व्यवस्था पनि गर्नपर्नेछ। किनभने पैह्रोको कारण लोप्चन परिवारको घर पूर्ण रूपले क्षतिग्रस्त बनेको छ। ज्ञापनमा विधायकले पहाड़मा लगातार पानी परिरहेको र  यसको कारण साना-ठूला धेरै पैह्रो गएको पनि जनाएका छन्।

जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भने, “मैले राज्यका आपदा प्रबन्धन एवं नागरिक सुरक्षा मन्त्रीलाई पहाड़मा पैह्रोको घटना र कुमार लोप्चन र उनकी पत्नी बाल कुमारी लोप्चनको मृत्यु भएको जानकारी गराएको छु। साथै पीड़ित परिवारलाई यथाशीघ्र सहयोगको माग गरेको छु। मन्त्रीले अघिबाटै जिल्लापालद्वारा घटनाको जानकारी लिइसकेको र राज्यमार्फत् हुने सहयोग पुर्‍याउने आश्वासन दिएका छन्।”

जिम्बाले बर्खे मौसमअवधि प्राकृतिक प्रकोपका घटनाहरू बच्न तथा प्रभावित/पीड़ित मानिसहरूका लागि राहत तथा बचाऊँ कार्यका लागि जिल्लापाल प्रशासन र आपदा प्रबन्धन चनाखो र सतर्क बस्नुपर्ने सुझाएका छन्।

“विधायकमार्फत के कस्तो सहयोग गर्नसकिन्छ, त्यसबारे जानकारी लिइरहेको छु। यदि विधायकमार्फत् केही सहयोग गर्न सकिन्छ भने म प्रभावित परिवारहरूलाई अवश्यै सहयोग पुर्‍याउनेछु”, जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि विधायक जिम्बाले भने। अर्कोतिर आज बिहान दार्जीलिङ शहरको मोटर स्ट्यान्डनजिक पैह्रो गएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here