कालेबुङ, 11 जुलाई : राष्ट्रिय राजमार्गका ठाउँ-ठाउँमा गएका साना-ठूलो पैह्रोले बिहीवार बिहानैदेखि यातायात पूर्ण रूपले ठप्प बनेको छ। पैह्रोको कारण कालेबुङ-सिक्किमलाई सिलगढ़ीसँग जोड़्ने राष्ट्रिय राजमार्ग 10 र सिलगढ़ीलाई डुवर्ससँग जोड़्ने राष्ट्रिय राजमार्ग 31 दुवैमा वाहनहरूको आवागमन बन्द भएको छ।
पछिल्लो सात दिनदेखि राष्ट्रिय राजमार्ग क्षेत्रमा लगातार मुसलधारे पानी परिरहेको छ। जसको कारण राजमार्गका ठाउँ ठाउँमा पैह्रोहरू झरिरहेका छन्। यद्यपि सड़कमा थुप्रिएको पैह्रो हटाउन विभाग खटिरहेको छ।
आज बिहान कालीझोलानजिक सेतीझोड़ामा माथिबाट ठूलो पैह्रो झरेर सड़कमा थुप्रिएको कारण दिनभरि यातायात ठप्प रहने आशङ्का छ। विभागीय सूत्रअनुसार सेतीझोड़ामा लगातार पैह्रो झरिरहेको छ, जसको कारण पैह्रो हटाउने काम पनि बाधित भइरहेको छ।
यसका साथै राजमार्गस्थित काली मन्दिर र सेभोक पुलिस आउटपोस्टनजिक पनि पैह्रो झरेको छ। बाटो बन्द भएपछि राजमार्गका दुवैतिर वाहनहरूको लामो जाम लागेको छ। उल्लेखनीय छ, केही दिनअघिदेखि पैह्रोको कारण राष्ट्रिय राजमार्ग 10 मा यातायात बाधित बनिरहेको छ। पैह्रोकै कारण यो राजमार्गमा यात्रा गर्न जोखिमपूर्ण बनिरहेको छ।