कालेबुङ, 11 जुलाई : कालेबुङ कृषक कल्याण सङ्गठन (केकेएस)-का सचिव विष्णु छेत्रीले संसदको यसै सत्रावधि दार्जीलिङ पहाड़मा त्रिस्तरीय पञ्चायत चुनाउ गराइनुपर्ने मागलाई उठाइदिने सांसद राजु विष्टसँग माग गरेका छन्।
यसै मागमा केकेएसले बिहीवार ईमेलमार्फत् सांसद विष्टलाई ‘रिमाइन्डर’ पनि पठाएको छेत्रीले बताए। “पछिल्लोपटक सांसद राजु विष्ट कालेबुङ भ्रमणमा आउँदा हामीले दार्जीलिङ पहाड़मा त्रिस्तरीय पञ्चायत चुनाउ र चियाश्रमिकहरूका लागि न्यूनतम रोजवृद्धि अधिनियम लागू हुनुपर्ने मागमा दुईवटा ज्ञापन चढ़ाएका थियौं। उनले हालैमा लोकसभामा प्रभावकारी ढङ्गमा चियाश्रमिकहरूको रोजवृद्धिको मागलाई संसदमा उठाएका छन्, जसका लागि हामी सम्पूर्ण दार्जीलिङवासीको तर्फबाट उनीप्रति आभार प्रकट गर्दछौं। उनको नेतृत्वमा नै चियाश्रमिकहरूको समस्या समाधान हुने कुरामा हामी विश्वस्त छौं”, केकेएस सचिवले थपे, “18-19 वर्षदेखि दार्जीलिङ पहाड़ पञ्चायत चुनाउदेखि विमुख छ। जसको कारण ग्रामीण क्षेत्रको विकासलगायत सामाजिक, आर्थिक र सांस्कृतिक संरचना नै चरमराएर गएको छ। आज गाउँ-बस्ती पूर्ण रूपले ब्याकफुटमा गएको छ। त्यसै विषयलाई ध्यानमा राखेर हामीले पछिल्लो भ्रमणमा सांसदलाई ज्ञापन चढ़ाएका थियौं। र आज विषयलाई सम्झाउँदै ‘रिमाइन्डर’ ईमेलमार्फत् पठाएका छौं।”
यदि त्रिस्तरीय पञ्चायत चुनाउ पहाड़मा हुनसकेको खण्डमा दार्जीलिङ र कालेबुङ जिल्लाका ग्रामीण क्षेत्रको विकास हुनका साथै गाउँ-बस्तीका मानिसहरूले न्याय पाउने बताए।
“पहाड़मा पञ्चायत चुनाउ भएको खण्डमा प्रधानमन्त्री नरेन्द्र मोदीको सबैको साथ, सबैको विकास र सबैको विश्वासको नारालाई पनि उनले यहाँ स्थापित गर्न सफल हुनेछन्”, उनले भने।
यसका साथै सांसद राजु विष्टले यसै सत्रमा पहाड़मा पञ्चायत चुनाउको मागलाई उठाउने कुरामा विश्वास व्यक्त गरे। भर्खरै पञ्चायत चुनाउलाई लिएर दार्जीलिङ जिल्ला भाजपाले लिएको अड़ानलाई पनि छेत्रीले स्वागत जनाएका छन्। यद्यपि भाजपाको अड़ान स्पष्ट नरहेको उनको भनाइ छ। यसैले स्पष्ट अड़ान बुझ्नका लागि केकेएसले भाजपाका स्थानीय नेतृत्वहरूसँग औपचारिक रूपमा कुराकानी गरी एउटा प्रस्ताव पारित गरी प्रदेश कमिटी र केन्द्रिय कमिटीमा पठाइदिने आग्रहसमेत गरेको बताए।“हामीले धेरै वर्षदेखि पहाड़मा पञ्चायत हुनुपर्ने माग गर्दै आइरहेको सबैलाई विदितै छ”, छेत्रीले भने।