जीएनएम मामिला : अनित थापाद्वारा ममतालाई पत्राचार

0
1081
जीटीए प्रशासक अनित थापा (फाइल फोटो)।

दार्जीलिङ, 11 जुलाई : जीटीएका प्रशासक अनित थापाले जीएनएम सूचीबाट पहाड़का प्रार्थीहरू छोड़िएको विषयमा ध्यानाकर्षण गराउनका साथै यसविषय समुचित सुनवाइ गरिदिने अनुरोध गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

स्वयं थापाद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार अनलाइन प्रणालीका कारण जीएनएमको सूचीमा पहाड़का धेरै विद्यार्थी छोड़िन गएका छन्। साथै पहाड़का नर्सिङ स्कूलका सीटहरूमा जीटीए क्षेत्रबाहिरका विद्यार्थीहरूद्वारा पूर्ति गरिएको छ।

उनले विज्ञप्तिमा लेखेका छन्, “मैले मुख्यमन्त्रीसमक्ष लेखेको पत्रमा यसवर्ष पहाड़का तालिम केन्द्रहरूमा बङ्गालभरिका उम्मेद्वारहरूलाई भर्ना लिइएकोले कालेबुङ र दार्जीलिङका तालिम केन्द्रमा छुट्टै सीटहरूको व्यवस्था नभएको स्पष्ट उल्लेख गरेको छु। जीटीए क्षेत्रका नर्सिङ स्कूलहरूमा पहाड़का विद्यार्थीलाई मात्र भर्ना लिइने व्यवस्था गरिदिने आग्रह पनि पत्रमा गरेको छु। पहाड़का हाम्रा विद्यार्थीहरूले अवसर पाउनपर्ने हाम्रो अड़ान र माग हो।”

उनले थप भनेका छन्, “पत्रमा मैले जीटीएको स्वास्थ्य एवं परिवार कल्याण विभागले जीटीए क्षेत्रका विद्यार्थीहरूका मेधाको आधारमा एउटा सूची तयार गरिरहेको छ, जसबाट जीटीए क्षेत्रका विद्यार्थीलाई मात्र विशेष रूपले यी नर्सिङ स्कूलहरूमा भर्ना गर्न सकियोस् भन्ने कुरा पनि प्राथमिकताको साथ उल्लेख गरेको छु। हामीलाई पूर्ण भरोसा छ, जीटीएको यो प्रस्तावलाई पश्चिम बङ्गाल सरकारले स्वीकार्दै समुचित सुनवाइ गरिदिने छ।”

थापाले जीटीए आफ्नो क्षेत्रको सर्वाङ्गीन विकासको मामिलालाई लिएर सदैव गम्भीर रहेको दाबी पनि गरेका छन्। “यस क्षेत्रको विकास, शान्ति र सुरक्षा हाम्रो लक्ष्य हो र यसै लक्ष्यलाई लिएर हामी दिन-रात लागि पर्दै आइरहेका छौं”, उनले भनेका छन्, “प्राकृतिक आपदाको यस मौसममा पनि हामी रोजगारको अवसरको निरन्तर खोज, बुनियादी विकासको आवश्यकता पूरा गर्ने पहलहरू गरिरहेका छौं।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here