दार्जीलिङ, 12 जुलाई : दार्जीलिङ शहरदेखि करिब 60 किलोमिटर टाढ़ाअवस्थित रम्माम खोलामा निर्माण गरिएको स्टीलको ब्रीज शुक्रवार गोर्खाल्यान्ड टेरिटोरिलय एड्मिनिस्ट्रेशन (जीटीए)-का अनित थापाले उद्घाटन गरे। आज उद्घाटन गरिएको यो पुलले रिम्बिक-लोधोमा समष्टिलाई पुलबजार खण्डसँग जोड़्छ। पुलको 4.5 मिटर चौड़ाइ रहेको यो पुलको लम्बई 72 मिटर छ।
जानकारीका अनुसार यो पुलको निर्माणकार्य सन् 2015 मा शुरु भएको थियो। यसभन्दा अघि रम्माम खोलामा जुन पुल थियो, त्यसको अवस्था अत्यन्त सोचनीय थियो। दुर्घटना पर्खेर बसेको झैं लाग्ने उक्त पुरानो पुललाई भत्काएर स्टीलको नयाँ ब्रीज बनाइएको हो, जसको लागत खर्च 9 करोड़ 70 लाखभन्दा अधिक रहेको बताइएको छ।
“यो पुल क्षेत्रका मानिसहरूका लागि जीवन रेखा हो। यसभन्दा अघि यहाँ अर्को पुल थियो। तर, त्यो पुल अत्यन्त जीर्ण अवस्थामा थियो। कुनै पनि समय दुर्घटना हुनसक्थ्यो। त्यसैले हामीले क्षेत्रवासीको सुविधालाई हेरेर नयाँ पुल बनाएका हौं”, उद्घाटनपछि पत्रकारहरूसँग बोल्दै अनित थापाले भने।
थापाका अनुसार आज उद्घाटन गरिएको यो पुलले सिक्किमले सुविधा पुर्याउने बताए। उनले जीटीएले थप 10-15 वटा ठूल्ठूला ब्रीज बनाउने र यसका लागि आगामी 15-16 दिनभित्र टेन्डर हुने जानकारी गराए। आज जीटीए प्रशासक अनित थापालगायत उद्घाटन कार्यक्रममा जीटीएका अधिकारीवर्ग, सदस्यहरू, गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङ तथा केन्द्रिय र स्थानीय समष्टिका पदाधिकारीहरू पनि उपस्थित थिए।