दार्जीलिङ, 13 जुलाई : दार्जीलिङमा भानु जयन्ती छुट्टा-छुट्टै रूपमा होइन, तर एकबद्ध भएर एकै ठाउँ मनाउनुपर्ने अपील गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-का प्रशासक अनित थापाले गरेका छन्। उनले आगामी वर्षदेखि सबैलाई एकजुट बनाएर भव्य रूपमा भानु जयन्ती पालन गर्ने दिशामा जीटीएले पहल गर्ने बताएका छन्।
शनिवार जीटीएले स्थानीय नेपाली साहित्य सम्मेलनसँग मिलेर 205औं भानु जयन्ती पालन गर्यो। यसै भानु जयन्ती कार्यक्रममा बोल्दै उनले यस्तो अपील गरेका हुन्। थापाले यसका सागि जिल्ला प्रशासनसँग पनि कुराकानी गर्ने बताए। स्मरणरहोस्, आज राज्यको सूचना एवं सांस्कृतिक विभागको तत्वावधानमा छुट्टै रूपमा भानु जयन्ती पालन गरिएको थियो।
स्थानीय दुःख निवारक सम्मेलनको प्रेक्षागृहमा दोस्रो चरणको कार्यक्रम सम्पन्न हुनअघि स्थानीय स्थानीय चौरस्तास्थित भानु सालिकमा श्रद्धाञ्जली, माल्यार्पण, रामायण र कविता-पाठ कार्यक्रम भएको थियो। त्यसपछि दोस्रो चरणस्वरूप पुरस्कार वितरण तथा अन्य कार्यक्रम गोदुनिसको प्रेक्षागृहमा सम्पन्न भयो, जसअन्तर्गत जीटीएद्वारा प्रदान गरिने पाँचवटा विधामा ती विधाविशेषका विशिष्ठ व्यक्तिहरूलाई पुरस्कार अर्पण गरियो।
कार्यक्रममा साहित्यका लागि दिइने भानु पुरस्कार डा. राजेन्द्र भण्डारी, लोकसङ्गीतका लागि दिइने मास्टर मित्रसेन थापा पुरस्कार काजी सिंह, पत्रकारिताका लागि दिइने पादरी गङ्गा प्रसाद प्रधान पुरस्कार गिदोन लेप्चा, नाट्य क्षेत्रका लागि दिइने डीबी सिंह पुरस्कार किरण ठकुरी र चित्रकारिताका लागि दिइने गोरे डगलस पुरस्कार हेमु राईलाई प्रदान गरियो। कार्यक्रममा स्थानीय साहित्यिकवर्ग, विभिन्न सङ्गठनलगायत विभिन्न राजनीतिक दलका नेतृत्वहरू पनि उपस्थित थिए।