सिलगढ़ी, 14 जुलाई : तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता एवं राज्यका पर्यटन मन्त्री गौतम देवले भाजपाका राज्य महासचिव राजु ब्यानर्जीविरुद्ध उच्च न्यायालयमा ‘ड्यामेज सुट’ (छवि खराब बनाएकोमा क्षतिपूर्ति मुद्दा) दर्ता गर्ने चेताउनी दिएका छन्। भाजपा नेताले केही दिनअघि दिएको एक बयानको सन्दर्भमा देवले आइतवार उनले पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो चेताउनी दिएका हुन्।
उल्लेखनीय छ, केही दिनअघि ती भाजपा नेताले सिलगढ़ी-जलपाइगढ़ी विकास प्राधिकरणमा भएको करोड़ौं रुपियाँको घोटालाकाण्डमा मन्त्री गौतम देव पनि संलग्न रहेको आरोप लगाएका थिए। साथै देवलाई तत्काल पक्राउ गर्नुपर्ने उनले माग गरेका थिए।
स्मरण रहोस्, सन् 2013 -मा एसजीडीएमा करोड़ौं रुपियाँको घोटाला भएको खुलासा भएको थियो। बाघडुग्रा, मालबजार र मैनागढ़ीमा तीनवटा बिजुली शवदाह गृहको निर्माण, महानन्दा नदीमा स्वरेज ट्रिटमेन्ट र सीसीटीभी क्यामेरा जड़ानका कार्यमा 50 करोड़भन्दा अधिक रुपियाँको घोटालाको आरोपमा 3 अभियन्तासहित कुल 10 जनालाई पुलिसले पक्राउ गरेको थियो। यसै घोटालामा मन्त्री देव पनि संलग्न रहेको भाजपा नेताको आरोप छ। त्यसबेला गौतम देव उत्तर बङ्गाल विकास मन्त्री थिए।
“ममाथि भाजपा नेता राजु ब्यानर्जीले निराधार र झूटो आरोप लगाएका छन्। उनले लगाएको आरोपले मेरो छवि खराब भएको छ। सोशल मिडियामा मेरा लाखौं फलोअर्स छन्। मेरो व्यक्तिगत जीवन, परिवार र समाज छ। मेरो मौलिक अधिकारमाथि अङ्कुश लागेको छ”, उनले थपे, “म यी भाजपा नेताविरुद्ध उच्च न्यायालयमा ‘ड्यामेज सुट’ दर्ता गर्नेछु। यदि आवश्यक परेको खण्डमा म सर्वोच्च न्यायालय पनि जानेछु। यसका लागि मैले कोलकाताका उकिलहरूसँग परामर्श लिइरहेको छु।”
एकजना राष्ट्रिय दलको जिम्मेवार पदमा बसेका नेतालाई सत्य के हो भन्नेबारे थाह हुनुपर्ने देवले बताए। उनले पार्टीको पक्षबाट होइन, तर व्यक्तिगत रूपमा भाजपा नेताविरुद्ध मुद्दा दर्ता गर्ने बताए।
उल्लेखनीय छ, केही दिनअघि राजु ब्यानर्जीको नेतृत्वमा भाजपा सिलगढ़ी कमिटीको तर्फबाट एसजेडीए कार्यालयअघि विरोध प्रदर्शन गरिएको थियो। उक्त विरोध प्रदर्शनअवधि एसजेडीएको करोड़ौं घोटालामा मन्त्री गौतम देव पनि सामेल रहेको आरोप लगाउँदै उक्त घोटालामा संलग्न रहेका सबै राजनीतिक नेताहरूलाई पक्राउ गर्नुपर्ने माग गरेका थिए।