पाँचौं दिन पनि एनडीआरएफ र प्रशासनलाई रित्तो हात

0
1451
शनिवार बरामद भएको दुर्घटनाग्रस्त वाहनको पार्ट्स।

सिलगढ़ी, 14 जुलाई : राष्ट्रिय आपदा राहत बल (एनडीआरएफ)-ले पछिल्लो बुधवारदेखि लगातार खोजीकार्य जारी राखे तापनि इनोभा दुर्घटनामा परी बेपता भएका दुई पर्यटक र चालकलाई अझै भेटाउन सकेको छैन।

स्मरण रहोस् पछिल्लो बुधवार मध्याह्नको समय बाघडुग्राबाट सिक्किमतर्फ गइरहेको बेला डब्ल्यूबी 73 ई 2940 नम्बरको इनोभा राष्ट्रिय राजमार्ग 10 अन्तर्गत बाघपुल नजिक दुर्घटना हुँदा राजस्थान कोटानिवासी तीन पर्यटक र वाहनका चालक टिस्टा नदीमा बेपता भएका थिए। यद्यपि पछिल्लो 12 जुलाईको दिन एक पर्यटक अमन गर्गको शव जलपाइगढ़ीको गजलडोबास्थित टिस्टा क्यानलबाट बरामद गरिएको थियो। यद्यपि दुई पर्यटक गौरव शर्मा र गोपाल नरवानी तथा चालक राकेश राईको कुनै पत्तो लाग्न सकेको छैन।

शनिवार खोजीकार्यअवधि वाहनको पछिल्लो पार्ट्स भेट्टाइको छ। हिमालयन ट्राभल्स एजेन्सीले नम्बर प्लेट हेरेर दुर्घटनामा परेको इनोभाकै रहेको पुष्टि गरेको छ। अर्कोतिर टिस्टाबाट एउटा शव पनि बरामद भएको थियो। यद्यपि उक्त शव बेपता बनेका पर्यटक र चालकको नरहेको परिवारपक्षले पुष्टि गरेका छन्। बरामद शव पुरानो रहेको पनि जनाइएको छ।

अर्कोतिर खोजी तथा राहत एवं बचाउ दलका जवानहरूका अनुसार टिस्टाको जलस्तरदेखि करिब 20 फुट मुनि   इनोभा रोड़ा-बालुवाले पुरिएको पत्तो लागेको छ। यद्यपि उक्त वाहनलाई निकाल्नका लागि क्रेनको आवश्यकता पर्नेछ। क्रेनबिना वाहनलाई निकाल्न सम्भव छैन। यसैगरी खोजी कार्यमा जुटेका एनडीआरएफ जवान र स्थानीय र्‍याफ्टिङ दलका जवानहरूले आइतवार पनि खोजी कार्य जारी राखे। यद्यपि बेपता बनेका पर्यटकद्वय र चालकको कुनै पत्तो लाग्नसकेन।

यसैबीच उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गरेपछि अमन गर्गको शव परिवारपक्षलाई सुम्पिएको छ। त्यहीं पाँच दिन बितिसक्दा पनि थप तीनजनालाई खोज्न विफल बनेपछि उनीहरूको परिवारले स्थानीय प्रशासन र राज्य सरकारप्रति असन्तुष्टि व्यक्त गर्नथालेका छन्।   उनीहरूको असन्तुष्टि विशेषगरी स्थानीय पुलिस र प्रशासन र एनडीआरएफको भूमिकाप्रति रहेको छ। बेपता बनेकाहरूलाई खोज्न एनडीआरएफ र पुलिस प्रशासन गम्भीर नरहेको उनीहरूको आरोप छ।

“पछिल्ला पाँच दिनमा पनि उनीहरूले मेरा दाजु र अन्यलाई खोज्न सकिरहेका छैनन्। यसैबाट उनीहरू कतिसम्म कुशल छन् भन्ने कुरा स्पष्ट हुन्छ”, बेपता बनेका गौरव शर्माका भाइ आकाश शर्माले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here