साहित्यकार हायमन दास राई किरातको निधन

0
3839
साहित्यकार हायमान दास राई किरात (फाइल फोटो)।

कालेबुङ, 15 जुलाई : पछिल्लो वर्ष आफ्नो उमेरको सयौं वर्षदिन मनाएका गोरुबथाननिवासी वरिष्ठ साहित्यकार हायमन दास राई किरात (101)-को आइतबार राति निधन भएको छ। पारिवारिक सूत्रका अनुसार उनको निधन 10:30 बजे भएको हो।  11 फरवरी 1919 –मा जन्मेका साहित्यकार किरात साहित्य लेखन र संवर्द्धन दुवैका लागि नेपाली साहित्यमा सम्मानित नाम हो।

लेखन र प्रकाशनको हिसाबले हायमन दास राई किरातको पहिलो कथा ‘शुरवीर’ गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’-भन्दा जेठो मानिन्छ। किरातको शुरवीर कथा 1934 सालमै नेपालको शारदा पत्रिकामा प्रकाशित भएको थियो।

उनका 12 कथा सङ्ग्रह, तीन उपन्यास र तीनैवटा कविता सङ्ग्रह प्रकाशित छन्। राईले केवल साहित्य लेख्ने काम मात्र गरेनन्। तर, 1950-को दशकमा ‘नवयुग पुस्तक मन्दिर’-जस्तो बलियो प्रकाशन संस्थाको स्थापना गरी इन्द्रबहादुर राई, हृदयचन्द्रसिंह प्रधान, हरिभक्त कटुवाल र नरबहादुर दाहालजस्ता प्रतिष्ठित साहित्यकारहरूका पुस्तकहरू प्रकाशन गरेका थिए।

जीवनको उत्तरार्धसम्म लेखन र अध्ययनमा सक्रिय हायमन दास राई किरातलाई उनको कथा सङ्ग्रह ‘केही नमिलेका रेखाहरू’-का लागि सन् 2008 –मा साहित्य अकादमी पुरस्कारबाट सम्मानित गरिएको थियो। यसैगरी पछिल्लो वर्ष खरसाङको गोर्खा जनपुस्तकालयले सय वर्ष पुगेका साहित्यकार किरातलाई सय वर्षै पुगेको चन्द्रिका पुरस्कारले सम्मानित गरेको थियो।

पारिवारिक सूत्रका अनुसार सय वर्षको उमेरम पनि ठमठम हिँड़न र मसिना अक्षरहरूसमेत पढ़न सक्ने उनी केही दिनअघि अस्वास्थ्य थिए। उनको निधनले नेपाली साहित्य जगतमा शोकको लहर छाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here