
दार्जीलिङ, 16 जुलाई : सोमवार केन्द्रिय गृहमन्त्री अमित शाहलाई भेट गरेका सांसद राजु विष्टले दार्जीलिङ पहाड़, तराई र डुवर्सको दीर्घलम्बित मागको स्थायी राजनीतिक समाधानको खाँचो किन आवश्यक छ भन्नेबारे बुझाए।
विष्टको कार्यालयबाट जारी विज्ञप्तिका अनुसार उनले आफ्नो संसदीय क्षेत्र ‘चिकन नेक’ भएकोले यो क्षेत्रको राष्ट्रिय सुरक्षासम्बन्धमा गम्भीरताबारे प्रकाश पारेका थिए। साथै गृहमन्त्रीलाई रोहिङ्ग्य अनुप्रवेशले भारत-बङ्ग्लादेश सीमा क्षेत्रमा अवैध र राष्ट्रविरोधी कार्यहरूले प्रोत्साहन पाएको जानकारी गराए।
यसअवसरमा यो क्षेत्रमा स्थायी शान्तिका लागि कार्य गरी देशकै अति संवदेनशील क्षेत्रलाई सुरक्षित गरिनुपर्ने माग गृहमन्त्री शाहसँग राखेको पनि विज्ञप्तिमा बताइएको छ। साथै सांसदले गोर्खा जातिका 11 जातगोष्ठीलाई जनजाति बनाइनुपर्ने विषयमा चाँड़ोभन्दा चाँड़ो काम गरिनुपर्ने माग राखे।
‘आफ्नो संसदीय क्षेत्रमा प्रजातन्त्रको पूर्ण अभाव रहेको बारे बताउँदै सांसद विष्टले पश्चिम बङ्गाल पुलिसले तृणमूल कङ्ग्रेसको भातृ सङ्गठनले झैं निरन्तर कार्य गरिरहेको जानकारी पनि गृहमन्त्रीलाई गराएका छन्। उनले बङ्गाल पुलिसले गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङका इमानदार कार्यकर्ताहरूलाई पक्राउ गरिरहेको, आरपी वाइबालाई यातना दिएको, गोरामुमो नेता अजय एड्वर्डलाई थानामा रोकेको अनि तृणमूल कङ्ग्रेसविरुद्ध जानेहरू अनि उनीहरूका परिवारका सदस्यहरूलाई निरन्तर सताएको जानकारी पनि गृहमन्त्रीसमक्ष राखे’, विज्ञप्तिमा थप भनिएको छ, ‘यसका साथै उनले सिलगढ़ी, मतिगढ़ा, फाँसीदेवा र चोपड़ाका भारतीय जनता पार्टीका नेताहरूलाई सत्ताले निरन्तर दुःख दिएको जानकारी गराउँदै पुलिसले कसरी भाजपा कार्यकर्ता र समर्थकहरूलाई सताउँदैछ भन्ने जानकारी गराए। उनले पुलिसी अत्याचारमाथि छानबिन अनि आवश्यक कारबाहीका लागि अनुरोध गरी जसले कानून साथै न्याय प्रणालीको उपहास गरेका छन्, उनीहरूविरुद्ध उचित कारबाही गरिनुपर्ने माग गरेका छन्।’
अर्कोतिर, गृहमन्त्री शाहलाई सांसद विष्टले पछिल्लो 2017 यता जीटीएले कोषमा गरिरहेको चरम दुरुपयोगबारे पनि जानकारी गराएको बताइएको छ।
विज्ञप्तिका अनुसार सेप्टेम्बर 2017 देखि यता गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनको कोषमा व्यापक दुरुपयोग भएको, पूर्वाधारका निर्माणकार्यहरू सब-स्टान्डर्ट भएको, जीटीएको विकासका लागि आएको कोषलाई डाइभर्ट गरेर तृणमूल कङ्ग्रेसले चुनाउमा खर्चेको आदि सांसदले गृहमन्त्रीलाई बताए।
विज्ञप्तिमा जानकारी गराएअनुसार विष्टले विशेषगरी प्रधानमन्त्री आवास योजनालाई विभिन्न नाममा कार्यान्वित गरी विभिन्न विकास बोर्डमा भ्रष्टाचार भएको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। साथै उनले जीटीए र विकास बोर्डहरूमा पठाइएका केन्द्रिय कोषहरूको अडिट गरिनुपर्ने शाहलाई अनुरोध गरे।
विज्ञप्तिमा उल्लेख गरेअनुसार भेटवार्ताको शुरुमा उनले पछिल्लो 7 जुलाईको दिन लगातार परेको पानीको कारण दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रमा गएको पैह्रो र बाढ़ीको कारण भएको मानवीय र भौतिक क्षतिबारे पनि गृहमन्त्रीलाई जानकारी गराएका थिए। भेटवार्ताअवधि सांसद विष्टले राखेका सबै कुरा सुनेपछि गृहमन्त्री अमित शाहले उल्लिखित विषय आफूले अवलोकन गरेको तथा दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रको स्थितिबारे सचेत रहेको बताउँदै यी विषयहरूमा आवश्यक कारबाही गरिने सांसद विष्टलाई आश्वासन दिएको पनि विज्ञप्तिमा थप बताइएको छ।